चुनाव गर्न सरकारलाई बाध्य बनाउने-एमाले

  • 4 फेब्रुअरी 2017
Image caption सरकारले चुनाव नगरेर आयु लम्ब्याउने चाल चलेको एमाले अध्यक्ष केपी ओलीले बताए

मुख्य विपक्षी दल एमाले अध्यक्ष केपी ओलीले जसरी भएपनि निर्धारित समयमै चुनाव गर्न सरकारलाई बाध्य तुल्याउने चेतावनी दिएका छन्।

शनिबार पूर्वी नेपाल पुगेका ओलीले कहिले चुनावका कुरा त कहिले संविधान संशोधनका कुरा गरेर अलमल्याउन खोजेको भन्दै प्रधानमन्त्री प्रचण्डको तीखो आलोचना गरे।

सरकारले आफ्नो आयु लम्ब्याउने षडयन्त्र मात्र गरिरहेको उनको आरोप छ।

उनी भन्छन्, "सरकार खेलाँची गर्न खोजिरहेको छ र समय लम्ब्याउन खोजिरहेको छ। यो चुनाव गराउन र नेपालको संक्रमणकाल टुंग्याउन बनेको सरकार हो र?"

मध्यमार्ग

ओलीले प्रधानमन्त्री प्रचण्डप्रति कटाक्ष गर्दै भने, "प्रधानमन्त्रीले झनअस्ती भने 'छलफल गर्दैछौं', भोलीपल्ट भने 'बैशाखको अन्तिमतिर वा जेठको दश गते भित्रमा चुनाव गर्ने गरी तयार रहनुस्'। फेरि हिजो मधेशी मोर्चालाई 'चुनाव घोषणा भएकै छैन नआत्तिनोस् भने'।"

एमाले नेता ओलीले आफुहरुले कुनै हालतमा चुनाव जान सरकारलाई बाध्य तुल्याउने बताए।

उनले भने, "चुनाव नभए देशमा संवैधानिक संकट आइलाग्छ। त्यो आउनु अगाडि नै चुनाव गर्न सरकारलाई हामी बाध्य तुल्याउँछौं।"

चुनाव गर्ने भनेर एमालेलाई र संविधान संशोधन गर्ने भनेर मधेशी मोर्चाको ध्यान आकृष्ट गर्दै सरकार मुलुकको समसामयिक राजनीतिक गतिरोधको निकासका लागि मध्यमार्गी बाटोको खोजीमा रहेको माओवादी केन्द्रका नेताहरुले बताउने गरेका छन्।