यात्रा प्रतिबन्ध रोक्ने आदेशविरुद्ध पुनरावेदन

  • 5 फेब्रुअरी 2017
ट्रम्प तस्वीर कपीराइट AFP

अमेरिकाको न्याय मन्त्रालयले सियाटलको एउटा अदालतले मुसलमान बहुल राष्ट्रका नागरिकको यात्रा अनुमतिपत्रमा अस्थायी रोक लगाउने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयमाथि दिएको आदेशविरुद्ध औपचारिक रुपमा पुनरावेदन दर्ता गरेको छ।

राष्ट्रपति ट्रम्पको आप्रवासनसम्बन्धी पछिल्लो कार्यकारी आदेशलाई रोक लगाउने गरी सियाटलका एकजना संघीय न्यायाधीशले शु्क्रबार आदेश जारी गरेका थिए।

उक्त आदेशपछि ट्रम्पले न्यायाधीशलाई नाम मात्रैको भन्दै उनको आदेश हाँस्यास्पद भएको र त्यो उल्टिनुपर्ने बताएका छन्।

चेतावनी

न्याय मन्त्रालयले पुनरावेदनका लागि निवेदन दिनुअघि ट्रम्पले, शुक्रबार सियाटलको अदालतले दिएको आदेशविरुद्ध श्रृंखलाबद्ध रुपमा ट्वीट गर्दै न्यायाधीशको निन्दा गरेका थिए।

उनले आफ्नो निर्णय कार्यान्वयनमाथि रोक लगाउने अदालतको आदेशले उनकै शब्दमा खराब र खतरनाक मानिसहरु अमेरिका छिर्न सक्ने चेतावनीसमेत दिए।

तर उनको यस्तो चेतावनीमाझ मुख्य वायुसेवाहरुले ट्रम्पको निर्णयबाट प्रभावित देशका नागरिकहरुलाई बोर्डिङ पास दिएर अमेरिका प्रवेशका लागि अनुमति दिइरहेका छन्।

ट्रम्पको निर्णयले अमेरिकाका थुप्रै विमानस्थलहरुमा दविधाको वातावरण श्रृजना गरेको थियो।

तस्वीर कपीराइट EPA

विरोध प्रदर्शन

मुसलमान बहुल रहेका सात देशका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर भएदेखि नै त्यसविरुद्ध वासिङ्टन, मायमी र अमेरिकाका अन्य सहरहरु तथा युरोपका कतिपय राजधानीमा प्रदर्शनहरु भइरहेका छन्।

ट्रम्पको कार्यकारी आदेशपछि करिब ६० हजार भिसाहरु रद्द भएका छन्।

उनले लगाएको प्रतिबन्धले इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सुडान र यमनबाट आउने यात्रुहरुलाई ९० दिनसम्म रोक लगाएको थियो।

त्यस्तै उक्त आदेश अनुसार अमेरिकामा आउने शरणार्थीको भर्ना प्रक्रियालाई १ सय २० दिनसम्मका लागि स्थगित गरेको छ भने सिरियाली शरणार्थीलाई अनिश्चित कालका लागि प्रतिबन्ध लगाएको छ।