सुन तस्करी प्रकरण: एसएसपी पक्राउ

  • 5 फेब्रुअरी 2017
नवराज सिलवाल तस्वीर कपीराइट Nawa silwal
Image caption सीआईबीका प्रमुख नवराज सिलवालले मुख्य अभियुक्त पक्राउ गर्न बाँकी नै रहेको तर गिरफ्तार गरिने बताएका छन्

नेपाल प्रहरीले एउटा चर्चित सुन तस्करी प्रकरणमा अनुसन्धानको निम्ति आफ्नै संगठनका एकजना उच्च अधिकृतलाई गिरफ्तार गरेको जनाएको छ।

प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुखले मुख्य अभियुक्त गिरफ्तार हुन बाँकी रहेको बताए।

केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा नेपाल भित्रिएको करिव ३४ किलो सुन सहित केही व्यक्ति समातिएका थिए।

उसबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एसएसपी खत्री लगत्तै प्रहरी प्रधान कार्यालयमा तानिएका थिए।

बयान

त्यसबेला देखि नै अनुसन्धानको घेरामै रहेका उनलाई हिरासतमै राखेर अनुसन्धान गर्नु पर्ने ठहर गर्दै सीआईबीले गिरफ्तार गरेको बताइएको छ।

नेपाल प्रहरीका सह-प्रवक्ता एसएसपी ठाकुरप्रसाद ज्ञवालीले भने, "केही कुरा बुझ्न प्रधान कार्यालयमा काजमा काम गराइएको थियो। अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिको बयानका आधारमा उहाँको पनि संलग्नताको सम्भावना देखिएपछि प्रहरी प्रधान कार्यालयबाट सीआईबी कार्यलयमा बोलाएर त्यहीं नियन्त्रणमा लिएर राखिएको हो।"

सुनसँगै केही व्यक्ति गिरफ्तार गरेको प्रहरीले अनुसन्धानका क्रममा विमानस्थलमा कार्यरत केही सरकारी कर्मचारीलाई पनि पक्राउ गरिसकेको छ।

उनीहरुको बयानका आधारमा एसएसपी खत्रीलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ।

ठूला माछा

सुन तस्करीको ठूलै सञ्जाल रहेको बताउने सीआईबीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालले कोही पनि नछुट्ने विश्वास व्यक्त गरे।

उनले भने, "प्रमुख अभियुक्त पक्राउ पर्न बाँकी छन्। तस्करीको जालोमा रहेका सबै अभियुक्त समातिन्छन्। ठूलो मान्छे छुटेका छन् भन्ने चर्चा गलत हो। स्वदेश र विदेशमा रहेर संगठीत रुपमा काम गर्ने कोही छुट्दैनन्।"

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य अन्तर्राष्ट्रिय नाकाबाट सुन तस्करी हुने घटना कयौं वर्ष अघिदेखि सार्वजनिक हुँदै आएका छन्।

शक्तिशाली व्यक्तिको मिलोमतो बिना त्यो सम्भव नहुने चर्चा पनि चल्दै आएको छ।

तर उहिलेदेखि अहिलेसम्मका प्रकरणमा अहिले चल्तिको शब्दमा 'भुरा माछा समातिने र ठूला माछा उम्किने' गरेको गुनासो उस्तै छ।