ट्रम्पका यात्रा प्रतिबन्ध 'पुनर्स्थापित नहुने'

  • 5 फेब्रुअरी 2017
खुशी विद्यार्थी तस्वीर कपीराइट Reuters

अमेरिकाको एउटा अदालतले राष्ट्रपति डोनल्ड ट्रम्पले सात देशका यात्रु र सबै शरणार्थीमाथि लगाएको यात्रा प्रतिबन्ध पुनर्स्थापित गर्ने कानुन मन्त्रालयको अनुरोधलाई अस्वीकार गरेको छ।

त्यो निर्णय राती गरिएकाले पुरा मुद्दाको सुनुवाई नभएसम्म यात्रा प्रतिबन्ध स्थगित नै रहनेछ।

अदालतले ह्वाइट हाउसलाई र उसलाई चुनौती दिने राज्यहरुलाई थप तर्कहरु प्रस्तुत गर्न सोमबार सम्मको समय दिएको छ।

सातवटा मुसलमान बाहुल्य भएका देशका मानिसलाई प्रभावित गर्ने त्यो प्रतिबन्धलाई दुइवटा राज्यले असंवैधानिक भनेका छन्।

कानुन विभागले न्यायाधीश जेम्स रोबार्टले राष्ट्रिय सुरक्षाको मामिलामा राष्ट्रपतिमाथि प्रश्न उठाएको आरोप लगाएको छ।

'राष्ट्रपतिको अधिकार'

अमेरिकामा कसले प्रवेश पाउने र कसले बस्न पाउने भन्ने निर्णय राष्ट्रपतिले मात्रै गर्न सक्ने पनि त्यो अपीलमा भनिएको छ।

शुक्रबारको मुद्दामा कानुन विभागले राष्ट्रपतिको कार्यकारी आदेशलाई चुनौती दिने अधिकार ती राज्यसंग नभएको बताएको थियो।

वैधानिक प्रवेशाज्ञा भएका मानिसलाई सही प्रकृया बिना यात्रा गर्नबाट रोक्ने हुनाले त्यो प्रतिबन्ध असंवैधानिक भएको वाशिंटन र मिन्नेसोटाका वकीलहरुको तर्क छ।

मुसलमानहरुलाई निशाना बनाएको जस्तो त्यो प्रतिबन्धले धार्मिक स्वतन्त्रताको पनि उल्लंघन गरेको उनीहरुको भनाई छ।

प्रतिकृया

प्रतिबन्धित राष्ट्रमध्ये एक इराकले त्यो प्रतिबन्ध फुकाउने कदमलाई सही भनेको रोयटर्स समाचार संस्थाले बताएको छ।

इरानले आगामी महिना इरानमा हुने कुश्तीको विश्वकप प्रतियोगितामा अमेरिकी टीमलाई खेल्न दिने भन्दै न्यायाधीश रोबार्टको निर्णयको प्रतिकृया दिएको छ।

ट्रम्पले यात्रा प्रतिबन्ध लागू गर्ने बित्तिकै इरानले ती अमेरिकी खेलाडीलाई पनि प्रवेशाज्ञा नदिने बताएको थियो।

ट्रम्पले भने न्यायाधीश रोबार्टको निर्णयलाई हास्यास्पद भन्दै उनलाई तथाकथित न्यायाधीश भनेका छन् र प्रतिबन्ध चाँडै पुनर्स्थापित गर्ने वाचा गरेका छन्।

नतिजा

शुक्रबारको निर्णयपछि अमेरिका छिर्ने समय कम बाँकी भएको ठान्दै प्रभावित देशबाट अमेरिका जाने मानिसको संख्या ह्वात्तै बढेको थियो।

भन्सार अधिकारीहरुले विमान कम्पनीहरुलाई त्यस्ता देशका यात्रुलाई यात्रा गर्न दिन भनेका छन् र कतार एयरवेज, एयर फ्रान्स, एतिहाड एयरवेज, लुफ्थान्सा र अन्य केही विमान कम्पनीले त्यसो गर्ने बताएका छन्।

शुरुमा त्यो प्रतिबन्धले अमेरिकी र विदेशी विमानस्थलहरुमा अस्तव्यस्तता श्रृजना गरेको थियो।

विरोध

प्रतिबन्ध अन्तर्गत इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सुडान र यमनबाट अमेरिका पुग्ने मानिसको प्रवेशाज्ञा ९० दिनका लागि स्थगित गरिने छ।

त्यसका साथै अमेरिकाको शरणार्थी कार्यक्रमलाई १२० दिनसम्म स्थगित गरिएको छ र सिरियाली शरणार्थीमाथि अनिश्चितकालसम्म प्रतिबन्ध लगाइएको छ।

त्यसको विरुद्धमा अमेरिका र विश्वभरका शहरहरुमा प्रदर्शन गरिएको छ।