ट्रम्पद्वारा जाँचमा कडाइ गर्न निर्देशन

  • 6 फेब्रुअरी 2017
ट्रम्प तस्वीर कपीराइट AFP

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमा अधिकारीहरुलाई संयुक्त राज्य अमेरिका प्रवेश गर्ने मानिसहरुलाई सावधानीपूर्वक जाँच गर्न आफूले निर्देशन दिएको बताएका छन्।

मुसलमान बहुल सात देशका यात्रुलाई अमेरिका प्रवेशमा आफूले लगाएको प्रतिबन्ध कायमै राख्न गरेको आग्रह संघीय पुनरावेदन अदालतले अस्वीकार गरेपछि उनको यस्तो भनाइ आएको हो।

सामाजिक सञ्जाल ट्विटरमा श्रृखंलावद्ध रुपमा सन्देशहरु प्रेषित गर्दै राष्ट्रपति ट्रम्पले आफूले 'होमलेण्ड सेक्युरिटी' भनिने आन्तरिक सुरक्षा मन्त्रालयलाई देशभित्र प्रवेश गर्ने मानिसहरुको खानतलासी एकदमै सावधानीपूर्वक गर्न निर्देशन दिएको उल्लेख गरेका छन्।

उनले न्यायलयहरुले सुरक्षा प्रत्याभूति गर्ने कामलाई कठिन बनाइरहेको र केही भए त्यसको जिम्मेवारी लिनुपर्ने धारणा पनि राखेका छन्।

विवाद

यसअघि शनिबार संघीय पुनरावेदन अदालतले मुसलमान बहुल सात देशका यात्रुमाथिको प्रतिबन्ध कायमै राख्न ट्रम्प प्रशासनले गरेको आग्रह अस्वीकार गरेको थियो।

ती प्रतिबन्ध तत्कालका लागि हटाउन शुक्रबार सियाटलका एक जना संघीय न्यायाधीशले आदेश दिएका थिए।

त्यसपछि राष्ट्रपति ट्रम्पले उक्त फैसला दिने न्यायाधीश जेम्स रोबार्टको आदेश हस्यास्पद भएको भन्दै उनी नाममात्रैको न्यायाधीश रहेको बताएका थिए।

तस्वीर कपीराइट EPA

आफ्नो पुनरावेदनको आग्रहमा अमेरिकी न्याय मन्त्रालयले राष्ट्रिय सुरक्षाको विषयमा राष्ट्रपतिले गरेको निर्णयमाथि सियाटलका न्यायाधीशले चाहिने भन्दा बढी प्रतिक्रिया जनाएको उल्लेख गरेको थियो।

प्रतिबन्धहरुलाई चुनौती दिइरहेका वासिङ्टन र मिनेसोटा राज्यले ती प्रतिबन्धहरु असंवैधानिक रहेको र त्यसले नियम पालना नगरी मान्यताप्राप्त यात्रा अनुमतिपत्र रहेका मानिसहरुलाई अमेरिका आउन रोकिरहेको तर्क गरेका थिए।

मुसलमानहरुलाई मात्रै निशाना बनाएर राष्ट्रपति ट्रम्पको आदेशले धार्मिक स्वतन्त्रता हनन गरेको ती राज्यहरुको भनाइ छ।

ह्वाइट हाउस र ती दुवै राज्यहरुलाई सोमबार थप तर्कहरु प्रस्तुत गर्न अदालतले भनेको छ।

विपक्षी डेमोक्रयाटिक र सतारुढ रिपब्लिकन पार्टीका कैयौँ नेताहरुले ट्रम्पले न्यायलयबारे व्यक्त गरेको धारणाको आलोचना गरिरहेका छन्।