फ्रान्सका भूतपूर्व राष्ट्रपति विरुद्ध मुद्दा

  • 7 फेब्रुअरी 2017
निकोला सार्कोजी तस्वीर कपीराइट Reuters

फ्रान्सका एकजना न्यायाधीशले भूतपूर्व राष्ट्रपति निकोला सार्कोजीलाई चुनावी अभियानमा गैरकानुनी लगानी गरिएको एउटा आरोपका सम्बन्धमा मुद्दाको सामना गर्ने आदेश दिएका छन्।

सार्कोजीमाथि सन् २०१२ को चुनावी अभियानमा गलत हिसाब देखाएर २ करोड डलर लुकाएको आरोप लागेको छ।

सार्कोजीले त्यस्तो अत्यधिक खर्च भएको जानकारी आफुलाई नभएको र मुद्दाको सामना गर्ने आदेशका विरुद्ध अपील गर्ने बताएका छन्।

सन् २०१२ को निर्वाचन उनले हारेका थिए र यस वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिने प्रयासमा विफल भएका छन्।

त्यो समयमा युएमपी भनिने सार्कोजीको पार्टीले एउटा जनसम्पर्क कम्पनीसंग मिलेर सन् २०१२ को चुनावी अभियानको खास खर्च लुकाएको दावी गरिएको छ।

सीमा निर्धारित

फ्रान्सले चुनावी अभियानमा गर्न सकिने खर्चको सीमा निर्धारण गरेको छ।

'बिगम्याल्योङ प्रकरण' भनिने त्यो घटनामा बिगम्याल्योङ कम्पनीले सार्कोजीको अभियानका नाममा नभएर उनको पार्टीको नाममा रसीद बनाएपछि युएमपीले निर्धारित भन्दा दुई गुणा बढी खर्च गर्न सकेको आरोप लगाइएको छ।

बिगम्याल्योङका कर्मचारीले त्यस्तो छलका बारेमा थाहा भएको स्वीकारेका छन् र युएमपीका थुप्रै सदस्यविरुद्ध अभियोग लगाइएको छ।

सार्कोजीलाई त्यस्तो छलका बारेमा थाहा थियो कि थिएन भन्ने बारेमा उनीमाथिको अनुसन्धान केन्द्रित छ।

अपील

तर सार्कोजीका वकील टियरी एयर्जोगले त्यस्तो आदेश विरुद्ध सार्कोजीले अपील गर्ने बताए।

त्यो मुद्दा हेर्ने दुईजना न्यायाधीश मध्ये एकजनाले मात्रै आदेशमा हस्ताक्षर गरेका कारण उनले त्यसो भनेका हुन्।

फ्रान्सका राजनीतिज्ञहरुका आर्थिक कारोबारका बारेमा प्रश्न उठिरहेको समयमा त्यस्तो घटना भएको हो।

प्रश्न

सार्कोजीलाई पराजीत गर्दै मध्य दक्षिणपन्थी दलका उम्मेदवार बनेका फ्राँस्वा फियोंमाथि पत्नी र छोराछोरीलाई सार्वजनिक कोषको पैसा दिएको आरोप लागेको छ।

त्यस्तै चरम दक्षीणपन्थी नेतृ मरीन ले पेनले एकजना सहयोगीलाई पैसा दिएर केही रकम दुरुपयोग गरेको भन्दै युरोपेली संसदले त्यो रकम फिर्ता मागिरहेको छ।

सन् १९५८ यता मुद्दाको सामना गर्ने सार्कोजी दोस्रो राष्ट्रपति हुन्।