‘विद्युतीय मतदान हाललाई अनुपयुक्त’

  • 7 फेब्रुअरी 2017
आयुक्त

आगामी निर्वाचन विद्युतीय मतदान यन्त्रबाट गराउनका लागि भन्दै निर्वाचन आयोगले थालेको अभ्यास समय अभाव लगायत कारणले उपयुक्त नहुने कतिपय राजनीतिक दलले बताएका छन्।

विद्युतीय मतदान यन्त्रको नमूना प्रदर्शन र त्यस्तो प्रणालीको आवश्यकताबारे मंगलबार आयोगले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरुसँग छलफल गरेको थियो।

नेपालीका लागि 'नौलो' भएपनि विद्युतीय मतदान प्रणालीलाई नेपाली मतदाताले सहजताका साथ लिने छलफलमा सहभागी प्रधानमन्त्री प्रचण्डले बताएका थिए।

विद्युतीय मतदान प्रणालीको प्रयोगबारे अनुसन्धान अघि बढाउन आयोगले एउटा समिति समेत गठन गरेको छ।

विवादित

आयोगले स्थानीय तहको चुनावको मिति तोक्न सरकारलाई औपचारिक रुपमा आग्रह गरेको भोलिपल्टै सरकार तथा संसद्‍मा प्रतिनिधित्व गर्ने दललाई आयोगको कार्यालयमा भेला गरी विद्‍युतीय मतदान प्रणालीको औचित्य र सम्भाव्यताबारे प्रकाश पारेको छ।

आयोगले मतपत्र छपाई तथा ढुवानी खर्चिलो हुने, दलहरुको संख्या कारण मतपत्रको आकार ठूलो हुने, मतगणना विवादित र झञ्झटिलो हुने भन्दै यथाशीघ्र देशैभर विद्युतीय मतदानबाट निर्वाचन सम्पन्न गर्न सरकार तथा दलहरुको ध्यानाकर्षण गराएको छ।

आयोगको कार्यकक्षमा विद्युतीय मतदान यन्त्रबाट नमूना मतदान गरेपछि प्रधानमन्त्री प्रचण्डले आयोगको प्रस्तावलाई समर्थन गर्दै भने, "अब नेपालीहरु अशिक्षित छन्, जान्दैनन् भन्नु गलत हो। थोरै प्रशिक्षित गर्नुपर्ने आवश्यकता त होला तर अब नजान्ने भन्ने यो प्रयोग गर्न सक्दैनन् भनेर हामीले आफैंलाई नजरअन्दाज गर्न जरुरी छैन भन्ने मलाई लाग्छ। मोबाइल प्रयोग गर्नेले यसलाई देख्ने बित्तिकै हाउगुजी ठान्ने चेष्टा गर्नुहुँदैन।"

विद्युतीय मतदान यन्त्रको नमूना प्रदर्शन गर्न निर्वाचन आयोगले संसद्‍मा रहेका ३० वटै दलका प्रतिनिधिहरुलाई आमन्त्रण गरेको थियो।

विपक्षी र सरकारमा संलग्न केही साना दलहरुले निर्वाचनका लागि अन्य अत्यावश्यक तयारी नै बाँकी रहेको र चुनाव हुने नहुने नै टुंगो नलागेको अवस्थामा बिना अध्ययन विद्युतीय मतदान प्रणालीको प्रयोगमा जोड दिइनु औचित्यपूर्ण नभएको बताए।

अत्याधुनिक यन्त्रको प्रयोगप्रति आफ्नो असहमति नभएपनि त्यस्तो नौलो प्रणाली आगामी चुनावका लागि नेपालको भुगोल, राजनीतिक परिवेश र जनताको चेतनास्तर अनुकूल नभएकोमा तिनीहरुको जोड थियो।

निष्पक्ष

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ रुक्मिणी चौधरीले भनिन्, "यो यन्त्र प्रयोग गर्नुअघि पूर्वतयारीको साथ हामीले गाँउ-गाँउमा गएर राजनीतिक जनचेतना सँगसँगै निष्पक्ष हुनुपर्यो भनेर चुनावी जनचेतनासँगै यन्त्रको प्रचार गर्नु आवश्यक छ। तर प्रचारप्रसार नगर्ने एकैचोटि यन्त्रमा भोट गर्न आऊ भनेपछि यन्त्र देखेर भाग्छन् हाम्रा जनता।"

आयोगले विद्‍धुतीय मतदान प्रणालीको प्रयोगबारे थप अध्ययन गर्न आयोगको सूचना तथा प्राविधिक महाशाखा प्रमुख लक्ष्मी यादवको नेतृत्वमा एउटा समिति गठन गरेको छ।

यसअघि दोस्रो संविधानसभाको निर्वाचनका बेला काठमाण्डूमा र उपनिर्वाचनका लागिका कैलाली र रोल्पामा भारतको अनुदानमा प्राप्त विद्‍युतीय मतदान यन्त्रहरुको प्रयोग गरिएको थियो।

स्थानीय निर्वाचनको मिति घोषणा र संविधान संशोधन, स्थानीय निकाय पुनर्संरचना लगायतका विवादित मुद्दाहरुको टुंगो लागि नसक्दा विद्युतीय मतदान प्रणालीको नमूना प्रदर्शन, त्यसमा एउटा मात्र विदेशी कम्पनीको सहभागिता आदि विषयको सार्वजनिक आलोचना पनि भएका छन्।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले त्यस्ता आशंकाको खण्डन गर्दै निष्पक्ष, छरितो र धाँधलीरहित निर्वाचनका लागि विद्युतीय मतदान यन्त्रको प्रयोगको प्रस्तावको बचाउ गरेका छन्।