रुसका विपक्षी नेता भ्रष्टाचारका 'दोषी'

  • 8 फेब्रुअरी 2017
अलेक्सेइ नवाल्नी तस्वीर कपीराइट AP

रुसका मुख्य विपक्षी नेता अलेक्सेइ नवाल्नी भ्रष्टाचारको आरोपमा दोषी पाइएका छन्।

उनको जेल सजाय केही समय पछि शुरु हुने खण्डमा पनि उनी आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा भाग लिन पाउने छैनन्।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रखर आलोचक नवाल्नीले ती आरोपहरु राजनीतिक रुपमा अभिप्रेरित भएको भन्दै तिनलाई अस्वीकार गरेका छन्।

अभियोजनकर्ताहरुले नवाल्नीलाई केही समय पछि शुरु हुने गरी ५ वर्षको जेल सजाय दिइनुपर्ने माग गरेका छन्।

भ्रष्टाचार विरोधी

४० वर्षीय नवाल्नी भ्रष्टाचार विरुद्धको अभियानका लागि परीचित छन्।

आफूलाई राजनीतिबाट बाहिर राख्नका लागि त्यो मुद्दा हालिएको उनको दावी छ।

गत वर्ष उनले सन् २०१८ मा हुने राष्ट्रपतीय निर्वाचनमा भाग लिने घोषणा गरेका थिए र त्यसपछि उनले राजनीतिक गतिविधिहरु बढाएका छन्।

संविधानले पुटिनलाई दोस्रो ६ वर्षे कार्यकालका लागि उम्मेदवारी दिने अनुमति दिएको छ तर पुटिनले त्यसो गर्ने कि नगर्ने भन्ने बारे केही बताएका छैनन्।

नवाल्नीको उदय

सन् २००८ मा नवाल्नीले रुसका ठुला सरकारी कम्पनीहरुमा भएको भनिएको भ्रष्टाचारका बारेमा लेख्न थालेपछि रुसी राजनीतिमा उनको उदय भएको थियो।

उनले राष्ट्रपतिको पार्टी युनाइटेड रसियालाई 'चोर र डाँकाहरुको पार्टी' भनेका थिए, जुन शब्दावली रुसमा धेरैको मुखमा झुण्डिन पुग्यो।

सन् २०१३ मा उनी मस्कोको मेयर पदको निर्वाचनमा उम्मेदवार बनेका थिए।

उनले एक चौथाई भन्दा बढी मत ल्याएपछि धेरैजना छक्क परेका थिए।

पुरानो फैसला

सन् २०१३ मा पहिलोपटक मुद्दाको सुनुवाई हुँदा नवाल्नीलाई करीब ५ लाख डलर रकम बराबरको भ्रष्टाचार गर्ने एउटा समूहको नेतृत्व गरेको आरोपमा दोषी पाइएको थियो।

त्यतिबेला उनलाई केही समयपछि शुरु हुने गरी पाँच वर्षको जेल सजाय सुनाइएको थियो।

त्यो निर्णयको युरोपेली संघ र अमेरिकाले निन्दा गरेका थिए र मस्को र सेंट पिटर्सबर्ग लगायतका शहरमा विपक्षीका समर्थक र प्रहरीबीच झडप भएको थियो।

मानव अधिकार सम्बन्धी युरोपेली अदालतले त्यो मुद्दामा नवाल्नीको कुराको सुनुवाई नभएको भनेपछि रुसी सर्वोच्च अदालतले त्यो निर्णय उल्ट्याएको थियो।

उम्मेदवारीबाट वञ्चित

रुसी कानुन अनुसार कुनै गम्भीर अपराधको दोषी पाइएमा नवाल्नीले १० वर्षसम्म सार्वजनिक पदका लागि उम्मदवारी दिन पाउनेछैनन्।

आज गरिएको फैसला पहिलोपटक गरिएको फैसलासंग हुबहु मिल्ने नवाल्नीले पत्रकारहरुलाई बताएका छन्।

सबै कुरा पुरानो फैसलाबाट लिइएको भन्दै त्यसले मुद्दाको बारेमा धेरै कुरा बताएको उनले टिप्पणी गरे।

राष्ट्रपतीय निर्वाचनमा नवाल्नीले भाग लिन नपाएमा त्यसले निर्वाचनको वैधानिकतालाई फरक पार्छ कि पार्दैन भन्ने प्रश्नको उत्तरमा क्रेमलिनका प्रवक्ता दिमीत्री पेस्कोफले त्यस विषयका कुनै पनि प्रश्नहरु उचित नभएको बताएका थिए।