महान्यायाधिवक्तामा सेसन्सको मनोनयन अनुमोदन

  • 9 फेब्रुअरी 2017
ट्रम्प तस्वीर कपीराइट AFP

अमेरिकाको माथिल्लो सदन सिनेटका सदस्यहरुले राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्तामा सिफारिस गरेका जेफ सेसन्सको नियुक्तिलाई अनुमोदन गरेका छन्।

सुनवाइपछि भएको मतदानको सेसन्सको पक्षमा ५२ र विपक्षमा ४७ मत खसेको थियो।

रङ्गभेद सम्बन्धी आरोपका कारण ३० वर्षअघि उनलाई संघीय न्यायाधीशको पदमा अस्वीकृत गरिएको थियो।

उनी राष्ट्रपति ट्रम्पको आप्रवासन सम्बन्धी नीतिका मुख्य योजनाकार मानिन्छन्।

विवाद

डेमोक्र्याटिक दलका नेताहरुले संसदीय सुनवाइका क्रममा सेसन्सको नागरिक अधिकारप्रतिको विगतको दृष्टिकोणको चर्को आलोचना गरेका थिए।

डेमोक्र्याटहरुको आलोचनाका करण उक्त सुनुवाइ एकदमै विभाजित देखिएको थियो।

पार्टीगत आधारमा नै मतहरु व्यक्त गरिएका थिए तर वेस्ट भर्जिनियाका एक डेमोक्रयाट सिनेटरले सेसन्सको पक्षमा भोट हालेका थिए।

नियुक्ति अनुमोदन भएपछि उनले भने, "कानून कार्यान्वयन र कानूनको शासन पालनामा मेरो रुचि रहेको छ, त्यही भएर मलाई विश्वास गर्ने र समर्थन गर्ने सबैलाई म धन्यवाद भन्न चाहन्छु।"

तस्वीर कपीराइट EPA

उनले थपे, "म राष्ट्रपति डोनल्ड ट्रम्पलाई धन्यवाद दिन चाहन्छु, उहाँ कानूनी शासनलाई विश्वास गर्नुहुन्छ र उहाँ अमेरिकी जनतालाई हिंसा र अपराधबाट जोगाउन चाहनुहुन्छ।"

सेसन्सको प्रतिष्ठामा आक्रमण गरेको आरोपमा एक जना डेमोक्र्याट सिनेटर एलिजावेथ वारेनलाई प्रतिबन्ध लगाइएको थियो।

मतदानअघिको बहसमा वारेन र अरु डेमोक्रयाट सिनेटहरुले मार्टिन लुथर किंङ्की पत्नीले सन् १९८६ मा संघीय न्यायाधीशमा मनोनयन गरिदाँ अश्वेत मतदातालाई धम्काएको भन्दै उनीमाथि लगाएको आरोप दोहोर्याएका थिए।

पृष्ठभूमि

सन् १९८६ मा भएको सुनवाइका क्रममा अश्वेत व्यक्तिको अधिकार स्थापनाका लागि गठित एउटा संस्थालाई उनले 'अमेरिका विरोधी' भनी चित्रण गरेका थिए।

सिनेटर सेसन्सले अश्वेतहरुलाई मताधिकार दिने एउटा कानूनलाई गलत भनी आलोचना पनि गरेका थिए।

आफ्नो प्रशासनका सदस्यहरुको नियुक्तिलाई ढिलो गरिदिएको भन्दै राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत डोमोक्रेटिक दलको आलोचना गर्दै आएका छन्।

राष्ट्रपति ट्रम्पको आप्रवासीसम्बन्धी नीतिका मुख्य योजनाकार मानिने सेसन्स मनोनयन गरिएका १५ मध्ये संसदीय सुनुवाइमा अनुमोदित छैठौँ अधिकारी हुन्।