उत्तर कोरियाद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण

  • 12 फेब्रुअरी 2017
क्षेप्यास्त्र तस्वीर कपीराइट Reuters
Image caption उत्तर कोरियाले क्षेप्यास्त्र र परमाणु परीक्षण गर्दै त्यसबारे आक्रामक अभिव्यक्तिहरु जनाइरहँदा त्यसले उक्त क्षेत्रमा त्रास बढिरहेको छ।

उत्तर कोरियाले पहिचान नखुलेको एक किसिमको ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको समाचार संस्था एनह्यापले जनाएको छ।

दक्षिण कोरियाको रक्षा अधिकारीहरुले उक्त प्रक्षेपण स्थानीय समय अनुसार ७ बजेर ५५ मिनेटमा जापानको पूर्वी क्षेत्रतर्फको समुद्रमा लक्षित रहेको जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निम्तोमा जापानका प्रधानमन्त्र सिन्जो आबे अमेरिका पुगेका बेला क्षेप्यास्त्र प्रक्षेपणको पछिल्लो खबर आएको हो।

विश्वास

दक्षिण कोरियाको सेनाले त्यसरी प्रहार गरिएको क्षेप्यास्त्र ब्यालिस्टिक क्षेप्यास्त्र भए नभएको प्रष्ट नभएको जनाएको छ।

पछिल्लो क्षेप्यास्त्र अघिल्लो अक्टोबरमा दुईवटा मध्यम क्षमताको क्षेप्यास्त्र परीक्षण गरिएको पश्चिमी प्रान्त उत्तर प्योङयाङबाट प्रहार गरिएको विश्वास गरिन्छ।

उत्तर कोरियाका नेता किम जंग उनले गत ज्यानुअरीमा आफ्नो देश लामो दूरीको क्षेप्यास्त्र परीक्षणका लागि योग्य रहेको जनाएका थिए।

गत साता अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले दक्षिण कोरियाको भ्रमणका बेला उत्तर कोरियाले कुनै पनि परमाणु हतियार प्रयोग गरे उसले त्यसविरुद्ध कडा र प्रभावकारी प्रतिक्रिया जनाइने बताएका थिए।

तस्वीर कपीराइट Getty Images
Image caption शुक्रबार वासिङ्टनमा भएको वार्तापछि ट्रम्प र आबे दुवैले उत्तर कोरियाको परमाणिक जोखिम दुवै देशका लागि उच्च प्राथमिकतामा रहेको बताएका थिए।

प्रतिक्रिया

उनले यो वर्षको अन्त्यमा दक्षिण कोरियामा क्षेप्यास्त्र प्रतिरक्षाका लागि आवश्यक प्रणाली जडान गरिने बताएका थिए।

उत्तर कोरियाले गत वर्ष आफ्नो पाँचौं परमाणु प्रविधिको परिक्षण गरेको थियो।

उसले अमेरिकामा परमाणु हमला गर्ने क्षमता आफूसँग रहेको पनि दाबी गर्दै आएको छ।

तर उसको यस्तो दाबी माझ विज्ञहरु भने त्यसका लागि उत्तर कोरियाले प्रविधिमा त्यति प्रगति गरिसकेकोमा अझै सहमत देखिँदैनन्।