ट्रम्पविरुद्ध मेक्सिकोका सहरमा प्रदर्शन

  • 13 फेब्रुअरी 2017
ट्रम्प तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीति र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन मेक्सिकोले नै पैसा तिर्नुपर्ने अडानको विरोधमा मेक्सिकोका दर्जनभन्दा बढी शहरहरुमा दशौं हजार मानिसहरु सडकमा उत्रिएका छन्।

प्रदर्शनकारीहरुले मेक्सिको सिटी सहित देशभरका अन्य शहरहरुमा पनि विरोध र्यालीहरु निकालेका छन्।

धेरै जसो मानिसहरु सेतो लुगामा देखिएका छन् र उनीहरुले मेक्सिकोको झण्डा फहराएका छन्।

ट्रम्को विरुद्धमा अंग्रेजी र स्पेनी भाषामा लेखिएका प्लेकार्डहरु पनि उनीहरुले बोकेका छन्।

शान्तिपूर्ण र्याली

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मेक्सिकोका जनताहरुको रिस स्पष्ट छ तर उनीहरुले निकालेका विरोध र्यालीहरु शान्तिपूर्ण रहे।

मेक्सिकोका जनता आफ्नो देशप्रति कति गर्व गर्छन् भन्ने देखाउन यो उनीहरुका लागि एउटा अवसर हो।

क्षेत्रिय शान्तिका लागि एकजना मानिसले कति धेरै त्रास फैलाउन सक्छ भन्ने महसुस गर्ने धेरैले उनीविरुद्ध एकतावद्ध हुन यहाँ भेला भएको बताएका छन्।

तस्वीर कपीराइट Getty Images

आक्रोश

एकजना प्रदर्शनकारीले बोकेको प्लेकार्डमा, 'तिम्रो साहसलाई विश्वभरका राम्रा मानिसले घृणा गरेका छन्' भन्ने लेखिएको छ।

अमेरिकी राष्ट्रपतिलाई मेक्सिकोको सम्मान गर्न माग गर्दै सबै उमेर समूहका मानिसहरु भेला भएका छन्।

प्रदर्शनकारीहरुले आफ्नै राष्ट्रपति इनरिके पेन्या नियटो पनि निकै कमजोर देखिएको र भ्रष्टाचार र हिंसाको अन्त्यका लागि निकै कम काम गरेको भन्दै उनको पनि विरोध गरेका छन्।

बीबीसीकी केटी वाटसनले भनिन्, "प्रदर्शनकारीहरुले आफ्नो देशको समर्थनमा नारा लगाइरहँदा त्यहाँ राष्ट्रपति पेन्या नियटोको विरुद्धमा पनि चिरपरिचित नारा लागेका थिए।"

चुनावी अभियानका क्रममा नियटोले ट्रम्पलाई आफ्नो देशको भ्रमण गर्न निम्तो दिएका बेला मानिसहरुले त्यसप्रति आक्रोश पोखेका थिए।