सशस्त्र खेमाका अगुवा हमासको नयां प्रमुख

  • 13 फेब्रुअरी 2017
तस्वीर कपीराइट AFP
Image caption याह्या सनवार (दायाँ) लाई एक कट्टरपन्थी नेताको रुपमा हेरिन्छ

प्यालेष्टिनी आन्दोलन हमासको सशस्त्र खेमाका एकजना अग्रणी सदस्य गाजामा उक्त संगठनको नयां प्रमुख निर्वाचित भएका छन्।

५५ वर्षीय याह्या सनवारलाई हमास संगठन भित्रको सबैभन्दा कट्टरपन्थी नेता मध्येका एक मानिन्छ।

उनको निर्वाचनलाई सो संगठनभित्र उसको सैन्य खेमाको बढ्दो प्रभावको संकेतका रुपमा लिइएको छ।

चयन

प्यालेष्टीनी व्रिदोही समूह हमासले आफ्नो सशस्त्र खेमाको कट्टरपन्थी कमाण्डरलाई गाजा स्ट्रिपको समग्र नेताका रुपमा चयन गरेको छ।

याह्या सनवारले त्यहांस्थित हमास सरकारको भूतपूर्व प्रधानमन्त्री इस्माइल हनियाको स्थान लिनेछन्।

सनवारलाई हत्याको अभियोगमा इजरेलले थुनामा राखेको थियो, तर सन् २०११ मा भएको बन्दी आदान प्रदानका क्रममा उनी मुक्त भएका थिए।

सन् २००६ मा हमासले अपहरण गरेको इजरेली सैनिक गिलाड शालिटको रिहाइका लागि त्यसबेला इजरेलले एक हजार भन्दा बढी प्यालेष्टिनी बन्दीहरु मुक्त गरेको थियो।

सूची

सन् २०१५ मा संयुक्त राज्य अमेरिकाले ती उग्रवादी नेतालाई आंतकवादको कालोसूचीमा समावेश गरेको थियो।

हमासको गाजा प्रमुखमा सनवारको चयन भएसंगै त्यो उक्त आन्दोलनभित्र राजनीतिक खेमा कमजोर हुंदै गएको र सैन्य खेमाको प्रभाव बलियो हुंदै गएको संकेतका रुपमा लिइएको छ।

हमासले इजरेलको अस्तित्वको अधिकारलाई अस्वीकार गर्छ र नेता सनवारले सो यहुदी राष्ट्रसंग हुने कुनै पनि सम्झौताको विरोध गर्छन्।

सन् २००७ मा भएको हिंसात्मक भिडन्तपछि प्यालेष्टिनी प्रशासनका प्रमुख महमुद अब्बासप्रति वफादार सैन्यालाई विस्थापित गरे देखि गाजामा हमासको पूर्ण नियन्त्रण रहंदै आएको छ।