'लाहोर विष्फोटमा कम्तीमा १३ को मृत्यु'

  • 13 फेब्रुअरी 2017
तस्वीर कपीराइट AP

पूर्वी पाकिस्तानी शहर लाहोरमा गरिएको एक बम हमलामा वरिष्ठ प्रहरी अधिकारीहरु सहित कम्तीमा १३ जनाको ज्यान गएको छ भने असीजना भन्दा बढी घाइते भएका छन्।

स्थानीय अधिकारीहरुका अनुसार मोटरसाइकलमा चढेर आएको पुरुषले भीडभित्र पसी उक्त विष्फोट गराएको थियो।

सोमबार पन्जाब प्रान्तीय विधानसभा बाहिर सैयौं मानिसहरुले विरोध जनाइरहेका बेला उक्त विष्फोट गराइएको थियो।

विरोध

उनीहरुले औषधि बिक्री संबन्धमा सरकारले ल्याएको नयाँ नियमको विरोध गरिरहेका थिए।

पाकिस्तानी तालिबानबाट अलग भएको एउटा गुट, जमात अल अरा, ले सो हमलाको जिम्मा लिएको छ।

उसले आफ्नो संगठन विरुद्ध पाकिस्तानी सेनाले गरिरहेको कारवाहीको जवाफमा त्यस्तो हमला गरिएको जनाएको छ।

"विष्फोट निकै शक्तिशाली थियो। मैले विष्फोट भएको स्थल नजीकै आगोको लप्काहरु, घाइते र शवहरु देखें। मानिसहरु रोइरहेका थिए," एकजना प्रत्यक्षदर्शीले भने।

आशँका

हताहति हुनेहरुको संख्या अरु बढ्न सक्ने आशँका गरिएको छ।

मारिनेहरुमा प्रहरीका पाँचजना वरिष्ठ अधिकार‌ीहरु पनि भएको बताइएको छ।

पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले सो हमलाको निन्दा गरेका छन् र हमलाकारीहरु विरुद्ध कडा कारवाही गरिने चेतावनी दिएका छन्।

गत वर्ष मार्च महिनामा लाहोरको एक सार्वजनिक पार्कमा गराइएको बम हमलामा केटाकेटी सहित कम्तीमा ६९ जनाको ज्यान गएको थियो।