सुरक्षा सल्लाहकारमाथि राजीनामाको दबाब

  • 14 फेब्रुअरी 2017
राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिन तस्वीर कपीराइट EPA
Image caption ह्वाइट हाउसकी परामर्शदाता केल्यान कोन्वेले फ्लिनप्रति राष्ट्रपतिको पूर्ण समर्थन रहेको बताएकी छन्।

आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनको रुससँगको विवादास्पद सम्बन्ध रहेको खबरहरुका माझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवस्थाको मूल्याङ्कन गरिरहेको ह्वाइट हाउसले जनाएको छ।

ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्नु अघि नै फ्लिनले रुसी राजदूतसँ अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धबारे छलफल गरेको भन्ने खबरहरु आएपछि उनलाई पदबाट हटाउनुपर्ने आवाज उठिरहेका छन्।

यसैबीच डेमोक्रेटिक पार्टिकी वरिष्ठ नेतृ न्यान्सी पलोसीले फ्लिनले अमेरिकी जनतालाई ढाँटेको भन्दै उनलाई राष्ट्रपति ट्रम्पले पदबाट हटाउनुपर्ने माग गरेकी छन्।

फ्लिनले रुसभन्दा माथि अमेरिकाको स्वार्थ राख्छन् भनेर विश्वास गर्न नसकिने उनले बताइन्।

मूल्यांकन

राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार फ्लिनको रुसी राजदूतसँगको सम्पर्कबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवस्थाको मूल्याङ्कन गरिरहेको ह्वाइट हाउसले जनाएको छ।

राष्ट्रपतिका प्रवक्ता शन स्पाइसरले अहिलेको अवस्थाबारे राष्ट्रपतिले मूल्याङ्कन गरिरहेको बताएका हुन्।

उनले भने, "राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति माइक पेन्ससँग उनको जेनरल फ्लिनसँग भएको संवादबारे कुराकानी गरिरहेका छन्। राष्ट्रिय सुरक्षा नै एउटा सबैभन्दा महत्वपूर्ण विषय रहेकोले ट्रम्पले पेन्सबाहेक अन्य थुप्रै मानिसहरुसँग पनि कुराकानी गरिरहेका छन्।"

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नु अघि अमेरिकाले रुसमाथि लगाउँदै आएको प्रतिबन्धबारे माइकल फ्लिनले रुसी राजदूतसँग कुराकानी गरेका थिए भन्ने खबरहरुमाझ उनी विवादमा तानिएका छन्।

तस्वीर कपीराइट JOE RAEDLE/GETTY IMAGES

अस्वीकार

उपराष्ट्रपति माइक पेन्सले भने अवकाशप्राप्त जेनरल फ्लिनमाथि लगाइएको आरोप सार्वजनिक रुपमै अस्वीकार गरेका छन्।

फ्लिनले आफूबारे आएका खबरहरुका लागि उपराष्ट्रपतिसमक्ष माफी मागेका छन्।

उनले प्रशासनका अधिकारीहरुले रुसी राजदूत सेरगेइ किसलियाकसँगको छलफलबारे भ्रामक खबरहरु दिएको बताएका छन्।

ह्वाइट हाउसकी परामर्शदाता केल्यान कोन्वेले फ्लिनप्रति राष्ट्रपतिको पूर्ण समर्थन छ भन्ने बताए लगत्तै राष्ट्रपतिका प्रवक्ता शन स्पाइसरको विज्ञप्ति आएको हो।

यसैबीच क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सञ्चारकर्मीहरुसँग बोल्दै रुसविरुद्धको अमेरिकी प्रतिबन्ध हटाउनेबारे फ्लिन र किसलियाक बिच कुनै छलफल नभएको बताएका छन्।