ट्रम्पका ‍सल्लाहकार फ्लिनको राजीनामा

  • 14 फेब्रुअरी 2017
माइकल फ्लिन तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले राजीनामा दिएका छन्।

यस अघि उनले रुससंग आफूले गरेको सम्पर्कका बारेमा ह्वाइट हाउसका अधिकारीहरुलाई अस्पष्ट जानकारी दिएको खुलासा भएको थियो।

टेलिफोन कुराकानीको रेकर्डहरु मार्फत थाहा भए अनुसार डोनल्ड ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि नै माइकल फ्लिनले अमेरिकाका लागि रुसी राजदूतसंग रुसविरुद्ध लागू प्रतिबन्धहरुका बारे छलफल गरेका थिए।

स्वीकार

आफ्नो राजीनामापत्रमा माइकल फ्लिनले आफूले ती फोन कुराकानीहरुका बारे अपुरो जानकारी मात्र उपलब्ध गराएको स्वीकार गरेका छन् तर उनले त्यो अन्जानबश हुन गएको बताएका छन्।

एकजना वरिष्ठ डेमाक्र्याट कंग्रेसमनले भनेका छन्, जेनरल फ्लिनको राजीनामाले मात्र डोनल्ड ट्रम्पको निर्वाचन प्रचारप्रसार टोली र क्रेमलिनबीचको सम्बन्धका बारे उठेका प्रश्नहरुको अन्त्य हुँदैन।

ओबामा प्रशासनले डोनल्ड ट्रम्पको समर्थनमा राष्ट्रपतीय निर्वाचनका क्रममा रुसी हस्तक्षेप भएको भन्दै ती प्रतिबन्धहरु लागू गरेको थियो।

अब अर्का भूतपूर्व जेनरल किथ केलोगलाई कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको छ।

तस्वीर कपीराइट Reuters

'ब्ल्याकमेल'

अमेरिकी सञ्चार माध्यमहरुले जनाए अनुसार कानून मन्त्रालयले फ्लिन र रुसी दूतबीचको सम्पर्कका बारे ह्वाइट हाउसलाई गत महिना सचेत गराएको थियो।

तिनका अनुसार माइकल फ्लिन रुसबाट हुनसक्ने 'ब्ल्याकमेल' को सहज शिकार हुन सक्नेछन्।

अमेरिकामा सर्वसाधारण नागरिकले राष्ट्रिय कूटनीतिको काम गर्नु गैरकानूनी कार्य हो र माइकल फ्लिनले आफ्ना पदबहाली हुनु अघि नै गत वर्ष रुसी दूतसंग त्यस्तो सम्पर्क स्थापित गरेका थिए।

केही वरिष्ठ डेमोक्र्याटहरुले उनलाई बर्खास्त गरिनुपर्ने माग गरेका थिए।

अमेरिकामा राष्ट्रपतिले अन्तर्राष्ट्रिय मामिला र सुरक्षाका मुद्दाहरुका सम्बन्धी आफ्ना प्रमुख परामर्शदाताका रुपमा राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने गर्दछन्।