भ्रष्टाचारको आरोपमा शशिकला दोषी ठहर

  • 14 फेब्रुअरी 2017
शशिकला तस्वीर कपीराइट PTI

भ्रष्टाचार गरेको आरोपमा भारतको सर्वोच्च अदालतले दक्षिणी राज्य तमिलनाडुकी एकजना विवादित नेतृ शशिकला नटराजनलाई चार वर्ष जेल सजाय सुनाएको छ।

अदालतको फैसलासँगै उक्त राज्यको मुख्यमन्त्री बन्ने नटराजनको लक्ष्यमा अंकुश लागेको छ।

शशिकलाको सम्पति उनको आम्दानीभन्दा बढी भएको अदालतले ठहर गरेको छ।

उनी गत वर्ष निधन भएकी तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिताको नजिककी सहयोगी र लामो समयसम्म सहकार्य गरेकी पात्र हुन्।

टकराव

राजनीतिक अनुभव नभएपनि नटराजनलाई तमिलनाडुको सत्तारुढ पार्टीले उनलाई नेता चयन गरेको थियो।

पार्टीको नेतामा चयन भएसँगै उनी र जयललिताको निधनपछि कार्यवाहक मुख्यमन्त्रीको पद सम्हाल्दै आएका पार्टीका अर्का वरिष्ठ नेता ओ पनीरसेल्वमबीच टकराव निम्त्याएको थियो।

उनले शशिकलाका लागि मार्ग प्रशस्त गर्न आफूलाई राजीनामा दिन लगाइएको आरोप लगाउँदै आएका छन्।

तर अब मुख्यमन्त्री पदको दाबेदार अब उनी नै हुने अनुमान गरिएको छ।

पदधारण

सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएसँगै १० वर्ष शशिकलाले सार्वजनिक पदधारण गर्न पाउने छैनन्।

अदालतले शशिकलालाई कर्नाटकाका अधिकारीहरुसमक्ष आत्मसमर्पण गर्न आदेश दिएको छ, जहाँ उनले जेल सजाय काट्नेछिन्।

सर्वोच्च अदालतको आदेशलाई शशिकलाका निम्ति ठूलो झट्काको रुपमा हेरिएको छ किनकि मुख्यमन्त्री बन्नका लागि उनले बहुमत विधायकहरुको मत पाएको दावी गर्दै आएकी थिइन्।

अदालतको आदेशपछि पनीरसेल्वमका समर्थकहरुले खुसियाली मनाइरहेको चेन्नईबाट प्राप्त तस्वीरमा देखिएको छ।