'फ्लिन वार्ताबारे ट्रम्प पहिल्यै जानकार’

  • 15 फेब्रुअरी 2017
फ्लिन तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आफ्ना पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले रुसी अधिकारीसँग गरेको टेलिफोन वार्ताको प्रष्ट कुरा लुकाएको बारे हप्तौँ देखि जानकार रहेको ह्वाइट हाउसका प्रवक्ताले बताएका छन्।

ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसरले कानून उल्लंघन गरेको कारणले नभई विश्वास गुमाएका कारण राष्ट्रपति ट्रम्पले फ्लिनको राजनीनामा मागेको बताए।

राष्ट्रपति ट्रम्पले पदभार नै ग्रहण नगरी रुसी राजदूतसँग अमेरिकी प्रतिबन्धहरुका बारेमा छलफल गरेको आरोप लागेपछि फ्लिनले राजीनामा दिएका छन्।

शुरुमा उनले ती आरोपहरु अस्वीकार गरेका थिए।

बेखबर

तस्वीर कपीराइट AP
Image caption सन् २०१५ मा रुसी राष्ट्रपति पुटिनसँग फ्लिन उपस्थित भएका थिए

यसअघि राष्ट्रपति ट्रम्पले रुसी राजूतसँग फ्लिनले गरेको भनिएको कुराकानीबारे आफू बेखबर रहेको बताएका थिए।

कार्यकालको शुरुवाती दिनमा नै अमेरिकी संघिय निकायका अधिकारीहरुले फ्लिनलाई सोधपूछ गरेको विवरण अमेरिकी संञ्चारमाध्यमले प्रकाशमा ल्याएका छन्।

शुरुमा फ्लिनको गतिविधिले कानून उल्लंघन नगरेको निष्कर्षमा पुगेका राष्ट्रपति ट्रम्प ह्वाइट हाउसका अधिकारीहरुले गरेको अनुसन्धानपछि 'विश्वास टुटेको' निष्कर्षमा पुगेको बताइन्छ।

ह्वाइट हाउसकी काउन्सलर केल्यान कोन्वे भन्छिन्, "राष्ट्रपति कार्यलयमा कसलाई के थाहा थियो र के थाहा थिएन वा कसलाई थाहा थियो र कसलाई थिएन भनेर मैले भन्न मिल्दैन। म के भन्न सक्छु भने कुनै एक सम्पर्क वा घटना मात्रै नभई उपराष्ट्रपतिलाई झुटा अथवा अपूर्ण विवरण दिइएको पाइएको छ। जनरल फ्लिनले ३० वर्ष भन्दा बढी सेनामा काम गर्नुभयो तर वहाँ या त इमान्दार हुनुभएन या विर्सनुभयो।"

गैरकानूनी

उक्त विवादबारे पहिलोपटक मुख खोल्दै समाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति ट्रम्पले वासिङटनबाट गैरकानूनी रुपमा कसरी सूचना चुहिरहको छ भनेर प्रश्न गरेका थिए।

साथै उनले उत्तर कोरिया लगायतका देशसँग काम गर्दा पनि त्यसरी नै सूचना चुहिरहन्छ? भनेर पनि प्रश्न सोधेका छन्।

यदी सत्य सावित भए, राष्ट्रपति ट्रम्पका सुरक्षा सल्लाहकारमा नियुक्ति नै नभई नागरिकका रुपमा अमेरिकी कुटनीतिक गतिविधिमा फ्लिन संलग्न हुनु गैरकानूनी हुनेछ।

डेमोक्र्याटिक दलतर्फका सिनेटका नेता चार्ल्स सुमरले जनरल फ्लिनका गतिविधि र त्यसबारे ट्रम्प प्रशासनलाई रहेको जानकारीका बारेमा निष्पक्ष छानविन गरिनुपर्ने माग गरेका छन्।

केही रिपब्लिकन नेताहरुले फ्लिनको राजीनामाले राष्ट्रिय सुरक्षा हेर्ने निकायलाई प्रभावहिन देखाएको उल्लेख गर्दै रुससँगको सम्बन्धबारे राष्ट्रपति ट्रम्पको उद्देश्यमा प्रश्न गरेका छन्।