वातावरण संरक्षण निकायको प्रमुखमा प्रुएट

  • 18 फेब्रुअरी 2017
स्कट प्रुयट तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वातावरण संरक्षण सम्बन्धी निकाय इन्भारोन्मेन्टल प्रोटेक्सन एजेन्सी (इपीए) को प्रमुखमा मनोनयन गरेका स्कट प्रुएटले शपथग्रहण गरेका छन्।

उक्त निकायको कट्टर आलोचक रहेका प्रुएटको मनोनयनलाई डेमोक्र्य्याटहरुले ढिलो गर्ने प्रयास गरेका थिए।

तर रिपब्लिकनको नियन्त्रणमा रहेको माथिल्लो सदन सिनेटले उनको मनोनयन अनुमोदन गरेको हो।

दबाब

तेल र ग्यास उद्योगका कार्यकारीहरुसँग आदानप्रदान गरेको इमेलका कारण मुद्दा खेपिरहेका प्रुएटलाई बिहीबारमात्रै ओक्लोहोमा राज्यका एकजना न्यायाधीशले मंगलबारसम्म ती इमेल सार्वजनिक गर्न आदेश दिएका थिए।

तर प्रुएटले आफूले त्यस्तो इमेल पठाएको भन्ने आरोप अस्वीकार गरिरहेका छन्।

उनी उर्जा उत्पादक कम्पनीसँग निकट रहेको दाबी गर्दै यसअघि डेमोक्र्याटहरुले सदनको मतदान प्रक्रिया बहिस्कार गरेका थिए।

उनीहरुले प्रुएटले आफू ओक्लोहोमाको महान्यायाधिवक्ता हुँदा आदानप्रदान गरेका इमेलहरु नबुझाउँदासम्म उनको मतदान स्थगित गर्न अबेरसम्म संसदमा दबाब दिएका थिए।

तस्वीर कपीराइट Getty Images

तर पछि सिनेटमा भएको मतदानमा उनको पक्षमा ५२ मत खस्यो भने विपक्षमा ४६ मत खस्यो।

मनोनयन अनुमोदन भएपछि उनले शुक्रबारै शपथ लिएका छन्।

इमेलहरु बुझाउन एउटा उदारवादी निगरानी समूहले गरेको अनुरोध उनले दुई वर्ष भन्दा बढीसमयदेखि अस्वीकार गरिरहेका थिए।

वातावरणसम्बन्धी काम गर्ने समूहहरुले भने उर्जा कम्पनीहरुमाथि लगाइएको नियन्त्रणहरु उनले खुकुलो पार्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

चिन्ता

ओक्लाहोमा राज्यका पूर्व महान्यायाधिवक्ता रहेका प्रुएटले सो निकायका नियमविरुद्ध एकदर्जन भन्दा बढी पटक मुद्दा हालेका छन्।

रिपब्लिकनहरुले उनले उक्त निकायमा आवश्यक परिवर्तन ल्याउने बताएका छन्।

तर डेमोक्र्याट नेताहरु तथा वातावरणसम्बन्धी काम गर्ने समूहहरुले प्रुएटको जलवायु परिवर्तनसम्बन्धी दृष्टिकोण तथा उनको कोयला र ग्यास उद्योगसँगको सम्बन्धका कारण चिन्ता व्यक्त गरेका छन्।

यसअघि नै राष्ट्रपति ट्रम्पले कोयला खानीबाट निस्किने फोहोरबाट पानीका श्रोतहरुलाई जोगाउन ल्याइएको नियमले रोजगारीलाई जोखिममा पारेको भन्दै त्यसलाई अन्त्य गर्ने कानूनमा हस्ताक्षर गरिसकेका छन्।