‘चुनावको मितिबारे आइतबार टुंगो लाग्ने’

  • 18 फेब्रुअरी 2017
चुनाव तस्वीर कपीराइट Prachanda's website

नेपाली कांग्रेस र निर्वाचन आयोगसँग छलफल गरी स्थानीय तहको चुनावको मिति घोषणाबारे प्रधानमन्त्री आइतबार निष्कर्षमा पुग्ने उनको पार्टी नेकपा माओवादी केन्द्रका एकजना वरिष्ठ नेताले बताएका छन्।

मिति घोषणामा समर्थन जनाउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई शनिबार आग्रह गरेका प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार र निर्वाचन आयोगसँग आइतबार छलफल गर्दैछन्।

त्ययसअघि प्रधानमन्त्रीसँग भएको छलफलमा मोर्चाका नेताले संविधान संशोधन प्रक्रियालाई निष्कर्षमा नपुर्याई चुनावको मिति घोषणा गरिए आफूलाई स्वीकार्य नहुने अडान दोहोर्याएका थिए।

स्थानीय चुनावको मिति घोषणासम्बन्धमा आफैंले अन्य दलका नेता समक्ष तोकेको भनिएको समयसीमा सकिनु एक दिनअघि प्रधानमन्त्री प्रचण्डले सत्ता बाहिरै रही सरकारलाई समर्थन गर्दै आएको मधेशी मोर्चासँग शनिबार बिहान छलफल गरेका थिए।

अस्वीकार

बैठकमा सहभागी नेताका अनुसार छलफलमा प्रधानमन्त्रीले संविधान कार्यान्वयनका निम्ति स्थानीय तहको निर्वाचन गर्नुको विकल्प नभएको भन्दै संविधान संशोधन र निर्वाचन प्रक्रियालाई सँगसँगै अघि बढाउने सरकारको तयारीमा सहयोग गर्न मोर्चाका नेतालाई आग्रह गरेका थिए।

तर मोर्चाले प्रधानमन्त्रीको आग्रह ठाडै अस्वीकार पछि सरकार चुनावको मिति घोषणा गर्ने पूर्व योजनाबाट पछि हट्ने त होइन?

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, "प्रधानमन्त्रीले आइतबार नेपाली कांग्रेससँग यसबारे अन्तिम छलफल गर्नका लागि बैठक राखिसक्नुभएको छ। त्यस्तै निर्वाचन आयोगसँग पनि छलफल गर्नुहोला। त्यो छलफलपछि सरकार एउटा निष्कर्षमा पुग्ला।"

प्रजातन्त्र दिवसका अवसरमा शनिबारनै राजधानीमा आयोजित एउटा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनबारे शंका नगर्न आग्रह गरेका थिए।

बाध्यता

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच फागुन ८ गतेसम्ममा स्थानीय चुनावको मिति घोषणा गर्ने अनौपचारिक सहमति भइसकेका विवरणहरुमाझ प्रधानमन्त्रीले निर्वाचनबारे गरेको आग्रहबाट मोर्चाका नेताहरु चाहिँ झस्किएको देखिन्छ।

प्रधानमन्त्रीसँगको छलफलमा सहभागी मोर्चामा आबद्ध सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, "उहाँले चुनावको मिति घोषणा गर्न बाध्यता छ र संशोधन प्रस्ताव पनि सँगै लैजान्छु भनेर भन्नुभयो। चुनावको मिति घोषणा गर्नेतर्फ उहाँले अलि बढी जोड दिनुभयो। हामीले यो हुँदैन, तपाईंले दुई-चार दिनभित्र संविधान संशोधनको काम गर्नुस्, जबरजस्ती गर्नुभयो भने हामी संघर्षमा जान बाध्य हुन्छौँ भनेर भन्यौँ।"

प्रधानमन्त्रीले छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरिए बैशाखको अन्त्य र जेठको शुरुमा निर्वाचन गर्न कठिन हुने बताउँदै राजनीतिक गतिरोध अन्त्यका लागि सहयोगी भूमिका खेल्न मोर्चाका नेतालाई आग्रह गरेका थिए।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनावको मिति घोषणा गरेमा संसद्‍मा रोकिएको संविधान संशोधन प्रक्रिया अघि बढाउन दिने संकेत दिइसकेको छ।