ट्रम्पद्वारा सञ्चारमाध्यमको पुन: आलोचना

  • 19 फेब्रुअरी 2017
समर्थकहरुमाझ ट्रम्प तस्वीर कपीराइट APTN

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडा राज्यमा भएको र्यालीमा बोल्दै सञ्चारमाध्यमहरुको पुन: चर्को आलोचना गरेका छन्।

उनले सञ्चारमाध्यमले सत्यतथ्य समाचार सम्प्रेषण गर्न नचाहेको र आफ्ना एजेण्डा अनुसार समाचार दिने गरेको बताए।

गत साता भएको पत्रकार सम्मेलनमा सञ्चारमाध्यमहरुमाथि कडा रुपमा प्रस्तुत भएका उनी र्यालीमा पनि पुन:सञ्चारमाध्यमविरुद्ध खनिएका हुन्।

प्रतिबद्ध

सञ्चारमाध्यमले बेइमानी गरेको भन्ने आफ्नो भनाई दोहोर्याउँदै केही मिडियाहरुले सत्य समाचार दिन नखोजी आफ्नाबारे झुठ्ठो समाचार बनाउने गरेको बताए।

उनले अमेरिकालाई सुरक्षित राख्ने र देशको सीमा बलियो बनाउने भन्ने आफ्नो चुनावी प्रचारप्रसारको प्रतिबद्धता दोहोर्याए।

तर चुनावी अभियानका क्रममा जस्तै शैलीमा बहालवाला राष्ट्रपतिले यसरी र्याली गर्नुलाई अस्वभाविक भनिएको छ।

नोभेम्बरको राष्ट्रपतीय चुनावमा उनले जित हासिल गरेको फ्लोरिडा राज्यमा शनिबार उनका समर्थकहरुले उनी र उनकी श्रीमति मेलानियालाई स्वागत गरेका थिए।

ट्रम्पले आफूले झुठ्ठा संञ्चारमाध्यममार्फत नभई सिधै अमेरिकी जनतासँग कुरा गर्न चाहेको बताएका थिए।

ट्रम्पले आफ्ना साथीभाई र जनताबीचमा रहन चाहेकोले आफू फ्लोरिडा आएको बताए।

तस्वीर कपीराइट Reuters

अपेक्षा

उक्त र्याली ह्वाइट हाउसले भन्दा पनि ट्रम्पका समर्थक आफैँले आयोजना गरेका हुन्।

राष्ट्रपतिकी प्रवक्ता सराह हकाबी स्यान्डर्सले उक्त भेला अमेरिकीका लागि आयोजना गरिएको बताइन्।

राष्ट्रपति ट्रम्पले शनिबार एउटा ट्वीट गर्दै ठूलो संख्याले र्यालीमा भाग लिने अपेक्षा आफूले गरेको बताएका थिए।

उनले अमेरिकाभर आशाको लहर फैलिएको बताउँदै आफूले चुनावी प्रसारप्रसारका क्रममा आर्थिक र सुरक्षा क्षेत्रबारे जनाएका प्रतिबद्धताहरु पुन: दोहोर्याए।