‘कालोसूचीबाट हटाउन आइकाओलाई पत्राचार’

  • 19 फेब्रुअरी 2017
विमान

नेपालको उड्डयन क्षेत्रमा भएका सुधारको जाँच गरी त्यसलाई अनुमोदन गर्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)लाई पत्राचार गर्न लागिएको अधिकारीहरुले बताएका छन्।

तीन वर्ष देखि नेपाली विमानहरुलाई युरोपेली आकाशमा उड्नमा लगाइएका प्रतिबन्ध फुकुवा गर्ने प्रयासमा त्यसो गर्न लागिएको नागरिक उड्ययन प्राधिकरणले बताएको छ।

युरोप भ्रमणमा रहेका पराराष्ट्रमन्त्री प्रकाशशरण महतले केही दिनअघि ब्रसल्समा युरोपेली आयोगका अध्यक्षलाई भेटेर नेपाली विमानमाथि लगाइएका प्रतिबन्ध हटाउन आग्रह गरेका थिए।

एकजना अनुभवी पाइलटले पनि नेपाली वायुसेवाहरुलाई कालोसूचीमा नै राखिरहनुपर्ने अवस्था नरहेको बताएका छन्।

कालोसूची

युरोपेली आयोगले २०७० साल मंसिरमा नेपालमा उडान गरिरहेका सम्पूर्ण नेपाली विमान कम्पनीलाई युरोपेली युनियन आवद्ध देशहरुमा उडान गर्न निषेध गर्ने निर्णय गरेको थियो।

त्यसका साथमा युरोपेली नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्नसमेत आग्रह गरेको थियो।

धेरै पर्यटक आउने युरोपेली देशमा नेपाली जहाज जान नपाउने र अन्य विमान कम्पनीबाट आएका यात्रु पनि नेपालभित्र ढुक्कले हवाई यात्रा गर्न नसक्ने अवस्था अन्त्यका लागि यसबीचमा भएका प्रयास अन्तिम चरणमा पुगेको नागरिक उडयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका महानिर्देशक सञ्जिव उपाध्याय भन्छन्, "नेपालमा जति विमान कम्पनीहरु छन् ती सबै पूर्णमा रुपमा सुरक्षित छन् भन्ने आधार हामीले स्थापित गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले प्रमाणित गर्नमात्रै बाँकी छ। हामीलाई तयार छौं भनेर पत्र पठाउ भनेको छ, आज भोलि नै हामी पत्र पठाउदै छौं।"

विगतमा वायुसेवा सञ्चालन अनुमति दिँदा देखिएको कमजोरीलाई हटाएर तोकिएको नियमलाई पूर्णरुपमा लागु गरिएको दाबी नागरिक उडयन प्राधिकरणको छ।

तस्वीर कपीराइट फाइल फोटो

त्यस्तै विमान चालकको तालिम मापदण्डहरु पनि तोकिए बमोजिम नै भइरहेको बताइएको छ।

विश्वस्नीय

जहाज दुर्घटनाका बारेमा छानबिन आयोगहरुले दिने गरेका सुझावलाई पनि कार्यान्वयन गरिएकाले कालसूचीबाट हट्ने कुरामा आफूहरु विश्वस्त रहेको महानिर्देशक उपाध्यायले बताए।

उनले भने, "हामीले गरेका ९९ प्रतिशत कामले आइकाओका गम्भीर सुरक्षा चासो सम्बोधन हुन्छ भन्ने विश्वास लिएका छौं, त्यही सुरक्षा प्रतिवेदनकै आधारमा इयुले पनि कालो सूचीमा राखेकाले त्यो पनि हट्ने छ।"

तर राष्ट्रिय ध्वाजावाहक नेपाल वायु सेवा निगमका एकजना अनुभवी पाइलट वाइ के भट्टराई सुधारका उल्लेख्य कदमहरु चालिए पनि विमान दुर्घटना सम्बन्धी अनुसन्धानलाई विश्वस्नीय बनाउन उचित प्रयास हुन नसकेको बताउँछन्।

तस्वीर कपीराइट फाइल फोटो

उनी भन्छन्, "त्यसमा अझै कमजोरी छ, विमान दुर्घटनापछि भएका जाँचबुझहरु अझै पनि त्यति विश्वासिला देखिँदैन्न।"

तर भट्टराईले नेपालमा सञ्चालन भइरहेका विमान र यसमा कार्यरत जनशक्तिमा कुनै समस्या नरहेको भन्दै इयुले कालोसूचीबाट हटाउनुपर्ने बताए।

उनी भन्छन्, "हाम्रो आकाश, विमान र नागरिक उड्ययन प्राधिकरण नै कालोसूचीमा राखिँदा पनि दुनिँयाका विमानहरु हाम्रो देशमा आएकै छन्, असुरक्षित भन्ने छैन त्यसरी कालोसूचीमा राखिनु राजनीतिमात्रै हो की भन्ने मलाई लाग्छ।"

अघिल्लो साता ब्रसल्समा युरोपेली आयोग उच्च अधिकारीहरुसँगको भेटवार्तामा नेपालका परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाली विमानमाथि लगाइएको प्रतिबन्ध हटाउन अनुरोध गरेका थिए।

विगतमा पनि पटकपटक सरकारका अधिकारीहरुले इयुको कालसूचीबाट हटाउने प्रयास भइरहेको र छिट्टै हट्ने बताउँदै आएका थिए।

तर केही महिना पहिले आएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको प्रतिनिधमण्डलले केही सुधार भएको देखिए पनि सूचकहरुमा आवश्यक सुधार नभएको निचोड निकालेको थियो।