मोसुलका केही गाउँ सेनाको नियन्त्रणमा

  • 20 फेब्रुअरी 2017
मोसुल तस्वीर कपीराइट Reuters

इराकको सरकारी फौजले विद्रोही समूह इस्लामिक स्टेटको नियन्त्रणमा रहेको मोसुलको बाँकी भागमा प्रवेश गर्ने क्रममा केही गाउँहरुलाई कब्जा गरेको छ।

तोप र हेलिकप्टरहरुसहित हजारौं सैनिकहरु उक्त आक्रमणमा सहभागी भएका छन्।

सेनाले आक्रमण शुरु गरेसँगै मानवअधिकारीवादी संघसंस्थाले उक्त क्षेत्रका लाखौं मानिसहरुको अवस्थाबारे चिन्ता व्यक्त गरिरहेका छन्।

चिन्ता

आइतबार सबेरै इराकका प्रधानमन्त्री हैदर अल अबादीले सैन्य कारवाही सुरु गर्ने औपचारिक घोषणा गरेका थिए।

आइतबार बिहानै सेनाका हेलिकप्टरलगायत हवाई शक्तिको सहायतामा सयौं गाडीहरु इस्लिमक स्टेटले कब्जा जमाएको क्षेत्रमा प्रवेश गरेका थिए।

इराकको दक्षिणी क्षेत्रमा रहेको दोस्रो ठूलो सहर हुँदै प्रवेश गरेका उनीहरु मोसुलस्थित विमानस्थल नजिकै पुगेका छन्।

सेनाका लेफ्टिनेन्ट जेनरल अब्दुलमिर रल्लाले एउटा विज्ञप्ति निकाल्दै द्रूत प्रतिक्रिया जनाउने सेनाको समूहले मोसुल विमानस्थलको दक्षिणमा रहेका दुईवटा गाउँहरु कब्जा गरेको बताए।

सरकारी सेना मोसुलमा प्रवेश गरिरहँदा उक्त क्षेत्रमा फसिरहेका हजारौं मानिसहरुको सुरुक्षाबारे चिन्ताहरु व्यक्त भइरहेका छन्।

तस्वीर कपीराइट QUENTIN SOMMERVILLE/BBC

अभाव

शरणार्थी सम्बन्धी निकाय नर्वेजियन रिफ्युजी काउन्सिलकी एलिसावेथ कुकले फसिरहेका मानिसहरुले खानेकुरा पानीको अभाव झेलिरहेको बताइन्।

उनले भनिन्, "मानिसहरुले हामीलाई भनिरहेका छन् कि नोभेम्बर यता सहरका व्यापारिक नाका बन्द रहँदा त्यहाँ खानेकुरा, पानीसहित औषधीको आपूर्तिसमेत हुनसकेको छैन।"

तर सेनाका अधिकारीहरुले पश्चिमी क्षेत्रमा निकै साँघुरा गल्ली भएकोले त्यहाँ ज्यादा चुनौती रहेको बताएका छन्।

अहिलेका लागि पूर्वी मोसुल हुँदै सहरको पश्चिम क्षेत्र पुग्न निकै कठिन छ किनभने त्यहाँ जान सकिने सबै पुलहरु ध्वस्त भएका छन्।