छलफलपछि संशोधनको बाटो खुला

संसद नेपाल
तस्बिरको क्याप्शन,

संविधान संशोधन विधेयकबारे संसदमा छलफल भएर टेबुल भएपछि परिमार्जन गर्न संशोधन थप्ने बाटो खुलेको छ

संविधान संशोधन विधेयकको तीब्र विरोध गर्दै आएको एमाले अचानक लचिलो बनेपछि बिहीबार संसदमा त्यसबारे छलफल भएको छ।

विधेयक टेबुल भएसँगै विधेयकमा संशोधन हाल्न ७२ घण्टाको समय दिइएको छ।

बीबीसीसँग कुरा गर्दै कानून मन्त्री अजय शंकर नायकले संविधान संशोधन विधेयक टेबुल भएपछि अब ७२ घण्टा संशोधन हाल्न समय मिलेकाले आउने संशोधन समेटेर पुन: संसदमा पेश गर्ने बताएका छन्।

तर प्रमुख प्रतिपक्षले सशोधन विधेयक पारित हुन नदिने अडान दोहोर्याएको छ।

'अविचलित अडान'

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले छलफल एकदिनका लागि चल्न दिने, छलफलमा एमाले सहभागी नहुने मौन बस्ने र आफूहरुले संशोधन प्रस्ताव पारित हुन नदिने बताए।

उनले भने, "यो संशोधन विधेयक पारित गर्न लायक छैन। हामी पारित गर्ने पक्षमा छैनौं। हाम्रो यो अविचलित अडान हो। यो अडानमा हामी निरन्तर छौं निरन्तर रहन्छौं।"

तराई केन्द्रित दलका नेताहरुले संशोधन विधेयक परिमार्जन सहित पारित नभए आफूहरुलाई अस्वीकार्य हुने अडान दोहोर्याएका छन्।

संसदको छलफलमा सहभागी हुँदै तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले भने, "शायद भोलीको गम्भीर परिस्थितिलाई मध्येनजर राखेर सरकारले यसमा विचार गर्छ। प्रमुख प्रतिपक्षी दलले यसमा विचार गर्छ र संशोधन प्रस्ताव पारित हुन्छ।"

विश्वास

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भएको कुराकानीबारे रुकुममा भएको एक आमसभामा भने, "विधेयकको प्रक्रिया अगाडि बढाउने एउटा समझदारी बनाएर म यहाँ आएको छु। यसले नयाँ परिस्थिति राष्ट्रिय एकता बनाउनेमा र संविधान कार्यान्वयन गर्नेमा एउटा नयाँ वातावरण बन्छ।"

नेपाल मजदुर किसान पार्टीको विरोधमा नाराबाजीका बीच चलेको संसद बैठकमा उठेका प्रश्नको जवाफ दिँदै कानुन मन्त्री अजयशंकर नायकले विधेयक पारित हुने विश्वास व्यक्त गरेका थिए।

अहिलेकै स्थिति कायम रहे संशोधन विधेयक पारित भए संसदमा संख्यात्मक रुपमा असन्तुष्ट तराई केन्द्रित दलहरुको भन्दा निकै गुणा ठूलो शक्ति मुख्य विपक्षी सहित नौ दल विच्किनेछन्।

अस्वीकृत भए परिणाम नस्वीकार्ने भन्ने असन्तुष्ट तराई केन्द्रित दलहरुको अडानले संशोधन प्रस्ताव पारित भएपनि नभएपनि त्यसले राजनीतिक सुलह ल्याउने देखिन्न।