मोसुलको पश्चिमी भागमा सेना प्रवेश

टयांक

तस्बिर स्रोत, Reuters

इराकी सेनाले ५ वर्ष अघि इस्लामिक स्टेटबाट मोसुल शहर फिर्ता लिनका लागि कारवाही शुरु गरेयता पहिलोपटक पश्चिम मोसुलको एउटा क्षेत्रमा प्रवेश गरेको छ।

सेनाले उक्त शहरको विमानस्थल कब्जा गरेको एक दिनपछि त्यस्तो भएको हो।

सेनाको त्यो कदमले उसलाई मरुभूमि र खेतहरुबाट घनावस्तीमा लैजाने छ र त्यहाँ लडाईं कठिन हुने अनुमान गरिएको छ।

गत महिना पूर्वी मोसुलबाट धपाइएपछि आइएस पश्चिममा एकत्रित भएको छ।

इराकका प्रधानमन्त्रीले त्यसै समयमा वायुसेनाले सिरियामा रहेको आइएसका विरुद्ध पनि पहिलोपटक आक्रमण गरेको घोषणा गरेका छन्।

आक्रमण

पछिल्लो समयमा आइएसले बग्दादमाथि आक्रमण गरेको दुइवटा स्थलमा उसमाथि आक्रमण गरिएको हैदर अल-अबादीले बताएका छन्।

जिहादी समूह आइएसलाई सिरियामा यसअघि नै बहुराष्ट्रिय गठबन्धको सेनाले हवाइ आक्रमण र आइएसविरोधी लडाकुहरुले स्थलगत रुपमा आक्रमण गरिरहेका छन्।

पश्चिमी मोसुलमा स्थलगत आक्रमण गर्नुभन्दा अघि इराकी लडाकुविमानले पनि त्यहाँ हवाइ हमला गरेको थियो।

त्यस क्षेत्रमा इराकी प्रहरीसंगै रहेका बीबीसीका क्वेन्टिन सोमरभिलले एउटा सानो समूह शहरभित्र प्रवेश गरेको बताएका छन्।

उनीहरुमाथि आक्रमण भइरहँदा पनि उनीहरु हतियारसहितका सवारीसाधमा अघि बढिरहेको सोमरभिल बताउँछन्।

भीडन्त

साँघुरा गल्लीहरु र घनाबस्ती रहेको क्षेत्रमा आगामी भीडन्तहरु अझ कठिन हुने उनी बताउँछन्।

शहरको पश्चिमी भागमा आक्रमण हुन लागेको चेतावनी दिंदै वासिन्दाहरुका लागि पर्चाहरु छरिएका थिए।

संयुक्त राष्ट्रसंघले पश्चिमी मोसुलमा फँसेका वासिन्दाहरुका बारेमा चिन्ता व्यक्त गरेको छ।

बालबालिका सम्बन्धी संस्था सेभ द चिल्ड्रेनका इराकका उपनिर्देशक अराम शकारामले बुधबार यता थोरै मानिसले मात्रै त्यहाँबाट उम्किन पाएको ठानेको बीबीसीलाई बताएका छन्।

त्यहाँ अझै ८ लाख मानिस फँसेको सेभ द चिल्ड्रेनको अनुमान रहेको उनले बताए।