नेपालमा रहेका रोहिंज्याको घर फर्कने चाहना

काठमाण्डूमा रहेका रोहिंज्या शरणार्थीहरुले यदि संयुक्त राष्ट्रसंघले मद्दत गर्न इच्छा देखाए आफूहरु घर फर्कन चाहिरहेको बताएका छन्।

काठमाडौंको बाहिरी भेगमा बसोबास गरिरहेका रोहिंज्याहरु
तस्बिरको क्याप्शन,

दशौं हजार रोहिंज्या शरणार्थीहरु हालैका महिनाहरुमा म्यानमार छोडेर बांग्लादेश आएका छन्। उनीहरुकै शब्दमा, सरकारले दिने उत्पीडनबाट मुक्ति पाउनका लागि उनीहरुले घर छोडेका हुन्। तर यो तस्वीरमा देखिएजस्तै धेरै जना यही कारणले म्यानमार छोडेर केही वर्षअघि काठमाण्डू आएका थिए। (तस्वीरहरु: कमल परियार)

तस्बिरको क्याप्शन,

अधिकारीहरुका अनुसार काठमाण्डूको दुईवटा बस्तीमा गरी नेपालमा करिब २ सय रोहिंज्याहरु छन्। तिनै मध्यका केही शरणार्थीहरुलाई बीबीसी नेपालीले कपनको राम मन्दिर नजिकै रहेको यो अस्थायी बस्तीमा गएर भेटेको हो।

तस्बिरको क्याप्शन,

काठमाण्डूमा रहेका करिब २ सय रोहिंज्यामध्ये एक हुन् ३१ वर्षीय अमिर हुसेन (तस्बीरमा बाँयापट्टि देखिएका) हुन् जो बांग्लादेश र भारत हुँदै सन् २०१२ मा आफ्नी श्रीमती र तीन सन्तानसहित नेपालमा तीनमहिनाका लागि आएका थिए। सेतो सर्टमा देखिएका ३० वर्षीय अयातुल्लाह अयातुल्लाह गत वर्षमात्रै शरणको खोजीमा नेपाल आइपुगेका हुन्।

तस्बिरको क्याप्शन,

अमिर हुसेनले भने, “बुद्ध धर्मका अतिवादीहरुको हमलामा मेरो समुदायका मानिसहरुलाई परे, थुप्रै मानिसहरु नराम्ररी घाइते भए र केही मेरै आँखा अगाडि मरे। त्यसपछि मैले रखिन राज्यस्थित मउंगद भन्ने ठाउँमा रहेको मेरो गाउँ छोड्ने निधो गरेँ। पाँचजनाको मेरो परिवार र गाउँका अन्य केही रोहिंज्याहरु बांग्लादेशको सीमा हुँदै हिँड्न शुरु गर्यौं। हामीसँग खानेकुरा थिएन र पैसा पनि पर्याप्त थिएन त्यसैले म र मेरी श्रीमती कहिले आधा पेट त कहिले भोकै सुत्यौं। बांग्लादेश नपुगुञ्जेल हामी रातभर र दिनभर हिँड्यौं। बांग्लादेशका अधिकारीहरुले पनि हामीलाई उनीहरुको सीमा क्षेत्रमा बस्ने अनुमति नदिएपछि हाम्रो पीडाले नयाँ मोड लियो। उनीहरुले हाम्रो अस्थायी बास पनि भत्काइदिए र हामीलाई उनीहरुको देश जतिसक्दो चाँडो छोडुन् भनेर पिट्न र धम्कीहरु दिन थाले।

तस्बिरको क्याप्शन,

रोहिंज्याहरुले आफ्नो १ सय २० जना रहेको समुदायका लागि वर्षमा करिब ७ सय डलर भाडा तिर्ने गरेको बताए। शरणार्थीसम्बन्धी काम गर्ने संयुक्त राष्ट्रसघंको उच्च आयुक्तको कार्यालयले दिने भत्ता घटाएको बेला उनीहरुको भाडा दर भने वार्षिक १० प्रतिशतका दरले बढ्ने गरेको भन्दै उनीहरुले गुनासो गरेका छन्।

तस्बिरको क्याप्शन,

नेपालले तिब्बत र भुटानबाट आएकाहरुलाई मात्रै शरणार्थीको रुपमा पहिचान गर्छ र अन्य देशका शरणार्थीहरुलाई अवैधानिक आप्रवासीको रुपमा हेर्छ। तर यहाँ अन्य देशहरु इरान, इराक, पाकिस्तान, बांग्लादेश, श्रीलंका, युक्रेन र अन्य मुलुकका शरणार्थीहरु पनि छन्।

तस्बिरको क्याप्शन,

नेपालको गृहमन्त्रालयका अधिकारीहरु शरण खोज्ने जो कोहिलाई खाने र बस्ने व्यवस्था उपलब्ध गराइनुपर्छ भन्ने अपेक्षालाई नै निरुत्साहित गर्नुपर्ने बताउँछन्। र, यस्ता शरणार्थीहरुको प्रवेशलाई रोक्न मन्त्रालयले काम गरिरहेको उल्लेख गर्छन्।

तस्बिरको क्याप्शन,

काठमाण्डूस्थित संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालय यूएनएचसीआरले नोभेम्बर २०१६ देखि शरणार्थीहरुको आवेदन दर्ता गरेर उनीहरुको अवस्था निर्धारणको काम शुरु गरेको र उक्त कार्य अहिलेसम्म जारी रहेको बताएको छ। रोहिंज्या समुदायका अमिर हुसेनसहित केही सदस्यहरुले उच्च आयुक्तको कार्यालयबाट आर्थिक सहयोग पाएमा र सुरक्षा हुने ज्ञारेण्टी भएमा आफूहरु घर फर्कन इच्छुक रहेको बताएका छन्।