'घातक विष प्रयोग गरी किम जङ नामको हत्या'

तस्बिर स्रोत, AP
कुआलालम्पुर विमानस्थलमा दुईजना महिलासंगको जम्काभेटपछि किम जङ नामको मृत्यु भएको थियो
मलेसियाले भनेको छ, उत्तर कोरियाका नेता किम जङ अनका सौतेनी दाजुको मृत्यु एकदमै शक्तिशाली स्नायु विषको हमलाबाट भएको पत्ता लागेको छ।
गत हप्ता कुआलालम्पुर विमानस्थलमा दुईजना महिलासंगको जम्काभेटपछि किम जङ नामको मृत्यु भएको थियो।
मलेसियाले गरेको विष परीक्षण प्रतिवेदनका अनुसार उनलाई भीएक्स नाम गरेको घातक स्नायु विष प्रयोग गरेर हमला गरिएको थियो।
उक्त रासायनिक पदार्थलाई संयुक्त राष्ट्र संघले आमनरसंहारको अस्त्र भनेर प्रतिबन्धित गरेको छ।
घातक विष
मलेसियाली प्रहरीका अनुसार उत्तर कोरियाली नेता किम जङ अनको सौतेनी दाजुको ज्यान लिनका लागि प्रयोग भएको विष संसारको सबैभन्दा घातक मध्येको एक स्नायु विष थियो भन्ने थाहा भएको छ।
पत्रकारहरुसंग कुरा गर्दै मलेसियाली प्रहरीका खालिद अबु बकरले आफूहरुले उक्त घातक रासायनिक पदार्थ कसरी देश भित्र ल्याइयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेको बताए।
उनले भने,"यदि प्रयोग भएको उक्त रासायनिक पदार्थ थोरै मात्रामा ल्याइएको रहेछ भने त्यसलाई पत्ता लगाउन हामीलाई निकै गाह्रो नै हुन्छ। उक्त रासायनिक विष गैरकानुनी हो, त्यो रासायनिक अस्त्र हो। र हामी कसरी त्यो हाम्रो देशमा भित्रीयो भनेर छानबीन गरिरहेका छौं।"
भीएक्स भनेर चिनिने उक्त विषको एक ग्रामको एकसयऔं अंश पनि मानिसको ज्यान लिन पर्याप्त हुन्छ। उक्त हमला भएको ११ दिन पछि मलेसियाली अधिकारीहरुले भने, तिनीहरुले उक्त घातक विषको अंश फेला पर्छ की भनि विमानस्थलमा खोजी गरिरहेका छन् र रेडियो विकीरणयुक्त सामग्री पनि फेला पर्छ कि भनी परीक्षण भैरहेको छ।
ब्रिटेनस्थित लीड्स विश्वविद्यालयका एकजना विषविज्ञ, एलेष्टेएर हे, ले बीबीसीसंग कुरा गर्दै उक्त भीएक्स स्नायु विष, अन्तर्राष्ट्रिय रासायनिक अस्त्र सम्झौता अन्तर्गत प्रतिबन्धित यौगिक भएको तर उत्तर कोरियाले त्यस्तो सन्धिमा हस्ताक्षर नगरेको बताए।
प्रयोग निषेधित
तस्बिर स्रोत, AP
कुआलालम्पुर विमानस्थलमा दुईजना महिलासंगको जम्काभेटपछि किम जङ नामको मृत्यु भएको थियो
उनले भने, "भीएक्स निकै साना मात्रामा पनि अति नै विषालु रसायन हो र युद्ध सामग्रीका रुपमा त्यसको प्रयोग निषेधित छ। यदि कुनै देशसंग उक्त रसायन छ भने उसले नेदरल्याण्ड्सको हेगस्थित रासायनिक अस्त्र प्रतिबन्ध सम्बन्धी निकायलाई जानकारी गराउनु आवश्यक पर्छ। तर उत्तरकोरियाले कुनै सन्धिमा हस्ताक्षर नगरेकाले त्यसो गर्न उ वाध्य छैन।"
मलेसियाली प्रहरीका अनुसार सिसिटिभीको दृश्यमा किम जङ नामलाई हमला गरेपछि ती हमलाकारी महिलाले वान्ता गरेको देख्न सकिन्छ।
मलेसियाले उत्तर कोरियासंग रहको आफ्नो कुनै समयको राम्रो सम्बन्धलाई पुनरावलोकन गर्ने भने पछि त्यस्तो खुलासा भएको हो।
गत हप्ता मलेसियाका लागि उत्तर कोरियाली राजदूत कांग चोलले पत्रकारहरुसंग कुरा गर्दै सो हमलाको घटनाका सम्बन्धमा मलेसियाले गरिरहेको अनुसन्धानलाई आफूले विश्वास नगर्ने बताएका थिए।
शुक्रबार कुआलालम्पुरमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै मलेसियाका विदेश मन्त्री अनिफा अमनले ती राजदूतको टिप्पणीलाई खारेज गरे। उनले ती राजदूत भ्रमित मनस्थितिमा रहेका भन्दै मलेसिया विरुद्ध झुठ फैलाउन उद्यत रहेको पनि बताए।
चेतावनी
मलेसियाली विदेशमन्त्रीले चेतावनी दिंदै भने,"एउटा जिम्मेवार राष्ट्रका रुपमा हामीले आफ्नो अन्तर्राष्ट्रिय दायित्वलाई अन्तर्राष्ट्रिय कानुन अन्तर्गत पालना गरेका छौं र कूटनीतिक अभ्यासहरु गरेका छौं। उत्तर कोरियाली राजदूतले मलेसियाली सरकारको मात्रै होइन। यहांका जनताको चाहना र भावनालाई पनि बुझ्न जरुरी छ। मलेसियाका लागि उत्तर कोरियाली राजदूतको हैसियतले उनले मलेसियाली सरकारको विश्वास जित्न आवश्यक छ भन्ने पनि बुझ्नु पर्छ। र यसको अर्थ के हो भन्ने उनले बुझेका होलान् भन्ने म आशा गर्दछु।"
उत्तर कोरियाका दिवंगत नेता किम जङ इलका जेठा छोरा किम जङ नामलाई कुनै बेला देशको भावी नेताका रुपमा हेरिन्थ्यो।
उनी बर्षौं देखि निर्वासनमा थिए र उनको स्थानमा उनका सौतेनी भाइ किम जङ अन ले सत्ताको बागडोर सम्हालेका थिए।
हमला हुंदा किम जङ नामले किम चोलको नाममा निकालिएको राहदानी बोकेका थिए।
र, उत्तर कोरियाले अझै पनि ती मृतक किम जङ नाम नै हुन् भनी औपचारिक रुपमा पुष्टि गरिसकेको छैन।