कांग्रेसभित्र असन्तुष्टि, बैठक डाक्न माग

कांग्रेस महाधिवेशन
तस्बिरको क्याप्शन,

महाधिवेशनमा नेतृत्व चयनका निम्ति मुख्य रुपमा दुईवटा खेमाबीच प्रतिष्पर्धा भएको थियो

सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि दर्शाउँदै पार्टी बैठक तत्काल बोलाउन लिखित आग्रह गरेका छन्।

महाधिवेशनमा तयार भएको आफ्नो खेमाका नेतासँगको परामर्शपछि पौडेलले संसदीय दल र केन्द्रीय कार्यसमितिको बैठक बोलाउन शनिबार साँझ देउवा समक्ष आग्रह गरेका हुन्।

पौडेल पक्षीय नेताको बैठकमा कांग्रेसको भागबाट राजदूतमा सिफारिस लगायतका विषयमा सभापति देउवाको कामको चर्को आलोचना भएको थियो।

एकलौटी

पौडेलले लेखेको पत्रमा विभिन्न नियुक्ति सिफारिसप्रति असन्तुष्टि जनाउँदै पार्टी एकलौटी ढंगले चलाएको आरोप देउवामाथि लगाइएको छ।

पत्र लेखेको स्विकार गर्दै नेता पौडेल केही खुलाउन चाहेनन्, "हामीले गर्ने भनेको गर्यौं। तर त्यो बाहिर प्रचार गर्नका लागि होइन। म यसमा केही टिप्पणी गर्न चाहन्न।"

देउवानिकट एकजना नेताले उल्टै पौडेल पक्षको कदमप्रति असन्तुष्टि जनाएका छन्।

नेता ज्ञानेन्द्रबहादुर कार्कीले सभापति देउवाको बचाउ गर्दै भने, "आवश्यकता अनुसार बैठक भइनै रहेका छन् र आवश्यकता अनुसार पार्टी सभापतिले जुनसुकै बेलामा बोलाउन पनि सक्नुहुन्छ। लिखित आग्रह गरिरहनुपर्ने जरुरी छैन।"

कांग्रेसको भागमा राजदूत सिफारिस गरिएका केहीको नामलाई लिएर उक्त दलभित्र र बाहिर पनि चर्को आलोचना भएको छ।

छलफल

ती लगायतका विषयमा छलफल गर्न पार्टी बैठक तत्काल खाँचो रहेको बताउँदै नेता मिनेन्द्र रिजालले भने, "राजदूत सिफारिसमा विवाद आएको छ र त्यसले पार्टीका साथीहरुलाई चिन्तित तुल्याएको छ। त्यस्तै संविधान संशोधन, स्थानीय निर्वाचनको तयारी, पार्टी/सरकार सञ्चालन र भातृ संस्था जस्ता छ-सातवटा विषयमा छलफल हुनुपर्छ भन्ने हो।"

बैठकमा ती विषयमा सभापतिको कार्यशैलीलाई चुनौती दिने पौडेल पक्षको तयारी देखिन्छ।

तर देउवानिकट नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने, "आफ्नो निहित स्वार्थका निमित्त पार्टीलाई वादविवादमा अल्झाउनुहुन्न र पार्टी एकताका साथ अगाडि बढोस् भन्ने कार्यकर्ताको भावनामा हामी सबैको ध्यान जान जरुरी छ।"

हालसालै प्रहरी महानिरीक्षक नियुक्तिलाई लिएर तीव्र विवादमा तानिएका सभापति देउवा लगत्तै भएको राजदूत सिफारिसका कारण अर्को आलोचनाको निशानामा परेका हुन्।

जसलाई महाधिवेशनमा देउवाद्वारा परास्त भई कांग्रेसभित्र प्रतिपक्षी भूमिकामा रहेका पौडेल र उनको पक्षले देउवालाई कस्ने अस्त्र बनाउन खोजेको देखिन्छ।