नम्ट्सफको सम्झनामा मस्कोमा प्रदर्शन

क्रेम्लिन

तस्बिर स्रोत, AFP

सन् २०१५ मा राष्ट्रपति कार्यालय क्रेम्लिन अगाडि गोली हानी हत्या गरिएका रुसी विपक्षी नेता बोरिस नम्ट्सफको सम्झनामा हजारौं मानिसले मस्कोमा प्रदर्शन गरेका छन्।

पूर्व राष्ट्रपति बोरिस येल्ट्सिनको कार्यकालमा उपप्रधानमन्त्री पद सम्हालेका एकजना सुधारवादी तथा प्रजातन्त्रवादी नेता नम्ट्सफ वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक थिए।

नम्ट्सफको हत्यामा संलग्न रहेको आरोपमा पाँचजना चेचेनहरुमाथि मुद्दा चलाइएको छ।

तर उनीहरुले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन्।

यातना

र, नम्ट्सफको परिवारका सदस्यहरु उनको हत्या गर्न आदेश दिएका मानिसबारे कहिल्यै थाहा हुन नसक्ने ठान्दछन्।

यसैबीच प्रदर्शन रोक्न लक्षित नयाँ कानून अन्तर्गत जेल पठाइएका पहिलो कैदी क्रेम्लिनविरोधी अभियानकर्मी इल्डार डाडिन सर्बियाको एउटा जेलबाट आइतबार रिहा भएका छन्।

बुधबार सर्वोच्च अदालतले उनीविरुद्धको फैसला उल्ट्याइदिएको थियो।

तस्बिर स्रोत, Reuters

इल्डारले जेलमा आफूलाई यातना दिइएको बताएपनि अधिकारीहरुले त्यसको खण्डन गरेका छन्।

बीबीसीकी मस्को संवाददाता सेराह रेन्स्फोर्ड भन्छिन्, नम्ट्सफलाई गोली हानिएको पुलमा प्रदर्शन गर्न अनुमति दिइएको थिएन तर पनि केही प्रदर्शनकारीहरु पुल भएर गएका थिए।

आलोचक

नम्ट्सफको स्मृतिमा उक्त पुलमा लामबद्ध रुपमा पुष्पगुच्छाहरु राखिएका छन्।

प्रदर्शन शान्तिपूर्ण भएपनि एकजना सहभागी राष्ट्रपति पुटिनका आलोचक एवं पूर्व प्रधानमन्त्री मिखईल कस्यानफको अनुहारमाथि हरियो मसी फालिएको थियो।

सेन्ट पिटर्सबर्ग र अन्य शहरमा पनि प्रदर्शन हुने अपेक्षा गरिएको छ।

सन् २०१५ को फेब्रुअरी २७ तारिखको राति युक्रेनकी आफ्नी केटीसाथीसँग एउटा रेस्टुराँबाट फर्किंदै गर्दा ५५ वर्षीय नम्ट्सफमाथि पछाडिबाट गोली हानिएको थियो।

त्यसअघि उनले एउटा रेडियो स्टेशनमार्फत मानिसहरुलाई एउटा प्रदर्शनमा सहभागी हुन आह्वान गरिरहेका थिए।

आर्थिक संकट र पश्चिमा मुलुकहरुको नाकाबन्दी निम्त्याउने गरी राष्ट्रपति पुटिनले गैरकानूनी रुपमा युक्रेनसँग लडाइँ शुरु गरिरहेको नम्ट्सफले आरोप लगाएका थिए।