चिलेका लाखौं मानिस पानीको अभावमा

तस्बिर स्रोत, AFP
चिलेमा आएको आँधीबेहरी र पहिरोले त्यहाँको मुख्य नदीलाई दुषित बनाएपछि अधिकारीहरुले राजधानी सान्टियागोका ४० लाख मानिसहरुलाई दिइँदै आएको खानेपानीको आपूर्ति बन्द गरेका छन्।
माइपो नदीबाट सान्टीयागो शहरका धेरैजसो घरमा पानीको आपूर्ति गरिन्छ।
तर शनिबारदेखि आएको वर्षाका कारण माटो र ढुंगासहित पहिरो गएपछि उक्त नदीको पानी दुषित भएको छ।
आपूर्ति
अधिकारीहरुले नदीको पानी सफा नहुँदासम्म करिब ४० लाख मानिसहरुलाई खानेपानीको आपूर्ति रोक्नुपर्ने बताएका छन्।
तर कहिलेसम्म पानी सफा होला भन्ने चाहिँ उनीहरुलाई थाहा छैन।
मानिसहरु आपतकालीन धाराहरुमा एकत्रित भएर बोटल र जारमा पानी जम्मा गरिरहेका छन्।
अधिकारीहरुले त्यहाँका रेस्टुरेन्ट र व्यापारहरु बन्द गर्न निर्देशन दिएका छन् र सोमबारदेखि शुरु हुने नयाँ शैक्षिक सत्र पनि पछाडि धकेल्न भनेका छन्।
बाढी पहिरोमा परी हालसम्म चारजनाको ज्यान गएको थाहा हुन आएको छ।