यमनमा भोकमरीको खतरा: आइसीआरसी

यमन कुपोषण

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन,

हुडैया बन्दरगाहमा हालै बम आक्रमण गरिएपछि सामान ढुवानी गर्न समस्या उत्पन्न भएको छ

अन्तरार्ष्ट्रिय रेडक्रस आइसीआरसीले द्वन्दवका कारण यमनको भोकमरीतर्फ धकेलिँदै गएको बताएको छ।

लडाइँका कारण महत्वपूर्ण हुडैडा बन्दरगाह मार्फत सामान पठाउने काम रोक्नुपरेको भन्दै आइसीआरसीले यमनमा रहेका केही खाद्यान्न भण्डारहरु रित्तिने चेतावनी दिएको छ।

राष्ट्र संघीय अनुमान अनुसार दुई करोड चालीस लाख जनसंख्या भएको यमनका ३३ लाख मानिसहरुले कठोर कुपोषण भोग्नुपरिरहेको छ।

आइसीआरसीले हुडैडा बन्दरगाहलाई लाइफलाइन अर्थात जीवनदायी बन्दरगाहका रुपमा उल्लेख गरेको छ।

सुरक्षा ग्यारेन्टी

यमनमा आवश्यक खाद्यान्नमध्ये नब्बे प्रतिशत आयात गर्नुपर्छ। सहायता एजेन्सीहरुले यही बन्दरगाह मार्फत धेरै खाद्यान्न भित्र्याउने गरेका थिए जुन अब उनीहरुले गर्न पाउनेछैनन्।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

साउदी नेतृत्वको गठबन्धनले यमनमा हुथी विद्रोही विरुद्ध कारवाही गरिरहँदा त्यहाँ भोकमरीको खतरा बढेको बताइन्छ

युद्धरत पक्षहरुले सहायता एजेन्सीहरुलाई सुरक्षा ग्यारेन्टी दिन नसकेकाले समस्या आएको बताइन्छ।

साउदी नेतृत्वको गठबन्धनले हालै हुडैडामा हवाइ बम आक्रमण गरेको थियो।

साउदी नेतृत्वको गठबन्धनले यमन सरकारलाई उसको हुथी विद्रोहीसँगको युद्धमा समर्थन गर्छ।

त्यसपछि सहायता एजेन्सीहरुले प्रयोग गरेका खाद्यान्न ओसारपसार गर्ने कम्पनीहरु अब उक्त बन्दरगाहमा नजाने भएका हुन्।

रेडक्रसका अनुसार हजारौं मानिसहरु अहिले नै कुपोषणको जटिलताबाट अथवा औषधिको अभावमा उपचार हुन नसकेका कारण सामान्य घाउचोटबाट मौन मृत्यु भोग्नुपरिरहेको छ।

द्वन्द्वको मारमा क्षति पुगेर यमनका आधा भन्दा बढी अस्पतालहरु सञ्चालनमा छैनन्।