सगरमाथामा बढ्यो चहलपहल

आधारशिविर

तस्बिर स्रोत, .

विश्वको सबभन्दा अग्लो शिखर सगरमाथा क्षेत्र अहिले पर्वतारोहण र पदयात्राका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएको छ।

लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा विभिन्न वायु सेवा प्रदायकले दैनिक ३० वटा भन्दा बढी उडान गरिरहेका छन्।

तारा एयरलाइन्सका लुक्ला स्टेशन इन्चार्ज फुनुरु शेर्पा भन्छन् विमान अवतरणका लागि कुनै बेला त हवाइ ट्राफिक जाम नै हुने गरेको छ।

सगरमाथा सहित ल्होत्से र नुप्से हिमाल आरोहणका लागि क्याम्प दुर्इसम्मको बाटो बनेपछि सातादिन यता पर्यटकको चाप बाक्लिएको नाम्चेका समाजसेवी लामाकाजी शेर्पाले बताए।

पूजापाठ

हिमाल आरोहण गर्नको लागि मुख्य सिजन मानिने यो बसन्त याममा मानव बस्ती नरहेको गोरक्सेपदेखि आधार शिविरबिचको बाटोमा आरोहीहरुको भिड देखिन्छ।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

सुरक्षित आरोहणका लागि आधार शिविरमा पनि पूजापाठ गरिन्छ

आरोहणको याम शुरु भएसंगै सगरमाथा क्षेत्रका गुम्बा तथा सगरमाथा आधार शिविरमा लामा पाठपूजा भइरहेका छन्।

बीबीसी नेपाली सेवाकी सोलुखुम्बुस्थित सम्वाददाता सुजाता तामाङ्ग भन्छिन् यो सिजनमा त्यस क्षेत्रका अधिकांश पुरुष आरोहणमा जाने गर्छन् र उनीहरुमाथि कुनै विपद नपरोस भनेर यस्तो पूजा गरिन्छ।

सगरमाथा क्षेत्रका त्याङबोचे, पाङबोचे, थामुत्याङ लगायतका ठूला तथा साना गुम्बाहरुमा आरोहण पूरा नहुञ्जेलसम्म पाठपूजा जारी रहन्छ।

प्रत्येकले घरघरमा र आरोहीहरुले सगरमाथाको आधारशिविरमा यस्तो पूजा गर्ने चलन रहेको आरोहणका लागि आधार शिविरमा पुगेका ल्हाक्पा ग्याल्जेन शेर्पाले बीबीसीलाई बताए।

आधार शिविरमा क्याम्प खडा गरेसंगै प्रत्येक आरोहण टोलीले शेर्पा पूजा गर्छन्।

अनुमति

यो पूजा शुरुमा गरिने पूजा हो भने आरोहणमा जानु केही अघि कुनै आरोहणमा अवरोध नहोस् र कुनै विपद नआओस् भनी सगरमाथा पर्वतसंग अनुमति मागिन्छ।

शेर्पा आरोही दावा ग्याल्जेन शेर्पा भन्छन्, "हामी सगरमाथालार्इ ईश्वरको रुपमा लिन्छौं। ईश्वर खुशी भएमा कुनै विपद आउँदैन। यसो गर्दा मन शान्त हुने र केही हदसम्म आत्मबल बढ्ने गर्छ।"

प्रत्येक टोलीले लामाबाट साइत जुराएर यो पूजा गर्छन्।

खासगरी त्याङबोचे र पाङबोचेका अवतारी धर्मगुरुलार्इ साइत हेराउने र सोही अनुसार नै आरोहीहरुले पूजापाठ र आरोहण गर्ने गरेका छन्।

शेर्पा आरोहीहरुले आरोहणमा जानुपूर्व नै आफ्नो ग्रहदशा के कस्तो छ भनी समेत हेराइ मन शान्त पार्ने चलन छ।

होडबाजी

पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि यो सातासम्ममा ३६ वटा टोलीले अनुमति लिएका छन्।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन,

गएका केही वर्ष सगरमाथा आरोहण सुस्ताएको थियो

पर्यटन विभागले यो सिजनमा करिब तीन सय सम्म आरोहीले सगरमाथा चढ्ने प्रयास गर्ने अनुमान गरेको छ।

यस्तै ६ हजार मिटर माथिका ल्होत्से हिमाल आरोहणका लागि ८ वटा र नुप्से हिमाल आरोहणका लागि ३ वटा टोलीले अनुमति लिएका छन्।

यो सिजनमा फरक खालका किर्तिमान कायम गर्ने होडबाजी पनि देखिएको छ।

ज्येष्ठ नागरिक ८४ वर्षीय मिनबहादुर शेरचन र एकै सिजनमा दुर्इ पटक हिमाल चढ्न एक अमेरिकी नागरिक तथा तेस्रो अग्लो शिखर कञ्चनजंघा हिमाल आरोहणका लागि पहिलो नेपाली महिला आरोही टोलीले स्वीकृति लिएको पर्यटन विभागका प्रमुख दुर्गादत्त ढकालले जानकारी दिएका छन्।

यस पटक आरोहणका लागि आएका धेरैजसो सन् २०१४ र २०१५ मा अनुमति लिर्इ आरोहण गर्न नसकेकाहरु रहेको विभागले जनाएको छ।

सरकारले सन् २०१४ को हिमपहिरोका कारण आरोहण गर्न नसकेकाहरुलार्इ पाँच वर्षसम्म र सन २०१५ को विनाशकारी भूकम्पले आरोहण गर्न नसकेकाहरुलार्इ दुर्इ वर्ष अर्थात २०१७ सम्म आरोहण अनुमति दिने भनेको थियो।

सन् २०१४ मा १६ र सन् २०१५ मा १८ जना आरोहीले ज्यान गुमाएका कारण ती वर्ष पर्वतारोहण हुन सकेनन्।

त्यसकै प्रभावस्वरुप गत वर्ष पनि धेरै चहलपहल भएन।

सगरमाथा आरोहणबाट सरकारले धेरै राजस्व संकलन गर्छ। वार्षिक करिब ६० करोड रुपियाँसम्म राजस्व संकलन हुने गरेको विभागले जनाएको छ।

सगरमाथा आरोहणका लागि सरकारले विदेशीका लागि प्रतिव्यक्ति करिब ११ लाख रुपैयाँ सलामी दस्तूर लिन्छ।