तनावमाझ आफ्ना नेता सम्झदैँ उत्तर कोरिया

उत्तर कोरिया

तस्बिर स्रोत, AFP

उत्तर कोरियाली नेता किम जङ उनले आफ्ना हजुरबुबा तथा देशका संस्थापक नेता किम इल सङको जन्मदिनका अवसरमा आयोजित सैनिक परेडमा सहभागिता जनाएका छन्।

उक्त समारोहमा सयौँ सैनिकहरु सहभागी थिए र परेडका क्रममा पनडुब्बीमा मार हान्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र सहितका अस्त्र प्रदर्शन गरिएको थियो।

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणलाई लिएर तनाव चुलिदैँ जाँदा पछिल्लो शक्ति प्रदर्शन गरिएको हो।

शनिबार प्योङयाङस्थित सरकारी सञ्चारमाध्यमले अमेरिकालाई उसका 'उत्तेजनात्मक' गतिविधिहरु रोक्न चेतावनी दिएको थियो।

अड्कलबाजी

उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणपछि कोरियाली प्रायद्वीपमा युद्धपोत तैनाथ गर्न अमेरिकी निर्णयले सो क्षेत्रमा तनावहरु बढेका छन्।

तस्बिर स्रोत, AFP

शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले यदि द्वन्द्व शुरु भए कुनै पनि देशले नजित्ने बताएका थिए।

उनले भने, "हालै एकतर्फ अमेरिका र दक्षिण कोरिया अनि अर्कोतर्फ उत्तर कोरियाबीच तनाव देखिएको छ र जुनसुकै पनि बेला पनि द्वन्द्व शुरु हुनसक्ने ठानिएको छ, मलाई लाग्छ अहिलेको अवस्थामा सबै सम्बद्ध पक्ष एकदमै सावधान हुनुपर्छ।"

अघिल्लो हप्ता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्योङयाङको परमाणु कार्यक्रम विरुद्ध एकल रुपमा कदम चाल्ने चेतावनी दिएका थिए र त्यसलगत्तै एउटा अमेरिकी युद्धपोत कोरियाली प्रायद्वीप नजिकै खटाइएको छ।

१०५ वर्षअघि जन्मिएका उत्तर कोरियाली संस्थापक नेता किम इल सङको निधन भएको धेरै वर्ष बिते पनि संविधान अनुसार अझै उनी पदमा वहाल छन्।

प्योङयाङ पुगेका बीबीसी संवाददाता जन सुडवर्थ भन्छन् यस पटकको जन्मजयन्ती समारोहको विशेष महत्व छ किनभने अहिले कोरियाली प्रायद्वीपको तनाव उच्च विन्दुमा पुगेको जस्तो देखिन्छ।

तस्बिर स्रोत, AFP

उत्तर कोरियाको हतियार भण्डार नै उसको सबैभन्दा ठूलो शक्ति बनेको देखिन्छ।

दक्षिण कोरियाको सीमामा अवस्थित रहेकाले उसले केही मिनेटमा नै दक्षिण कोरियाली राजधानीमा धनजनको ठूलो क्षति गराउनसक्ने ठानिन्छ।

बाहिरी विश्वबाट अलग भएपनि उत्तर कोरियाले हालैका वर्षमा सबै निर्वाचित अमेरिकी राष्ट्रपतिहरुको ध्यान आफूतर्फ तानिरहेको छ।

विकल्प

आफूले पदभार ग्रहण गरे लगत्तै उत्तरले श्रृखंलावद्ध रुपमा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विगतको जस्तै असफल वार्ताहरुलाई निरन्तरता दिने या अन्य कुनै नाटकीय विकल्प रोज्ने भन्नेबारे विचार गरिरहेका छन्।

उत्तर कोरियाले आफूलाई सुरक्षित ठान्ने गरी कुनै विकल्प नदिइएसम्म उसको परमाणु कार्यक्रम सम्बन्धी वार्ताहरु असफल नै भइरहने देखिन्छ।

तस्बिर स्रोत, Getty Images

बीबीसी संवाददाता जन सुडवर्थ भन्छन्, अहिले विश्वसामु दुईवटा कठिन विकल्प छन्।

पहिलोमा उत्तर कोरियालाई परमाणु हतियार भएको राष्ट्रको रुपमा मान्यता दिने र दोस्रोमा कडा प्रतिबन्ध लगाउने अनि जोखिम नै मोलेर भएपनि सैन्य कारबाहीमार्फत उसलाई निशस्त्र पार्ने।

राष्ट्रपति ट्रम्पले यी विकल्पहरुबारे विचार गरिरहँदा उत्तर कोरियालीहरु देशको संस्थापक परिवारको गुणगान गाउँदै नाच्ने र गाउने तयारीमा छन्।

र केही दिनमा नै उत्तर कोरियाले अर्को परमाणु परिक्षण गरेको विवरणहरु आउने अड्कलबाजीहरु गरिएका छन्।