टर्कीमा जनमत संग्रहको नतिजाप्रति चिन्ता

तस्बिर स्रोत, EPA
अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले टर्कीमा राष्ट्रपति रेजेप तायीप एर्दोआनको संवैधानिक अधिकारलाई अझ बलियो बनाउने प्रस्तावको पक्षमा भएको जनमत संग्रहप्रति गम्भीर चिन्ता व्यक्त भएकोमा जोड दिएका छन्।
काउन्सिल अफ युरोपका एकजना प्रवक्ताले भनेका छन्, अन्तिम समयमा गरिएका नियम परिवर्तन र आधारभूत स्वतन्त्रताका प्रावधानहरुमा गरिएको कटौतीका कारण टर्कीका राष्ट्रपतिको पक्षधरहरु अनुपयुक्त ढंगले सुविधाजनक अवस्थामा रहेका थिए।
एउटा संयुक्त वक्तव्यमा काउन्सिल अफ युरोप र ओएससीईले भनेका छन्, जनमत संग्रह अघि सञ्चारमाध्यमहरुका सामग्रीहरु एकपक्षीय मात्र थिए, राज्यका स्रोत साधनको दुरुपयोग गरिएको थियो र विपक्षीका प्रचारप्रसार अभियानहरुमा व्यवधान उत्पन्न गरिएकोथियो।
मतगणना प्रक्रियामा अन्तिम समयमा गरिएको परिवर्तनले त्यसको एउटा महत्वपूर्ण सुरक्षात्मक प्रावधान हटाएको थियो।
परिणाम
त्यही मुद्दालाई लिएर टर्कीको मुख्य विपक्षी दल, सीएचपीले मतगणना परिणामलाई रद्द गर्न माग गरेको तिनीहरुले बताएका छन्।
केही समयअघि मात्रै राष्ट्रपति एर्दोआनले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै जनमत संग्रहको अभियान "पश्चिमा आक्रमणकारीहरु लगायतका विश्वशक्तिहरुविरुद्धको लडाइँ" भएको बताएका छन्।
तस्बिर स्रोत, EPA
यसैबीच युरोपेली संघले राष्ट्रपति एर्दोआनलाई देशमा सकेसम्म फराकिलो सहमति कायम गरेर अघि बढ्न आग्रह गरेको छ।
प्रयास
जर्मन चान्सलर एंगेला मर्केलले सम्मानजनक वार्ताहरुका लागि अपिल गरेकी छिन्।
तर अष्ट्रियाका विदेशमन्त्री सेबास्टियन कुर्जले टर्कीले युरोपेलीसँगको सदस्यताका लागि गरिरहेको प्रयासलाई कहानी भन्दै त्यसको अन्त्य हुनुपर्ने समय आएको बताएका छन्।
फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलान्डको कार्यालयले चेतावनी दिंदै भनेको छ, यदि राष्ट्रपति एर्दोआनले मृत्युदण्डको सजायको प्रावधानलाई पुन: लागू गर्न अर्को जनमत संग्रह गराएमा त्यो युरोपेली मूल्य मान्यताभन्दा विपरीत हुन जानेछ।
रुसले भने सबैलाई टर्कीका जनताको चाहनाको सम्मान गर्न आग्रह गरेको छ।