‘गोप्य सूचना सावधानीपूर्वक राख’

तस्बिर स्रोत, PA
शुक्रबारबाट शुरु भएको विश्वव्यापी साइबर हमलालाई कम्प्युटर प्रविधि सम्बन्धी कम्पनी माइक्रोस्फटले सरकार तथा संघसंस्थाका लागि भविष्यमा आइपर्ने खतराबारे सावधान गराउने सूचकका रुपमा व्याख्या गरेको छ।
'विन्डोज अपरेटिङ सिस्टम'का पुराना 'भर्सन'हरुलाई ह्याकरहरुले निशाना बनाउँदा विश्वभर २ लाख भन्दा बढी कम्प्युटरहरु प्रभावित भएका छन्।
माइक्रोस्फटका प्रमुख कानुनी अधिकृत ब्राड स्मिथले ग्राहकहरुले आफ्ना अपरेटिङ सिस्टम समायानुकुल नबनाउँदा मालवेयर फैलन पाएको बताए।
अनि उनले सरकारहरुले साइबर हतियार चुहावट हुनबाट रोक्न सरकारहरुले आफ्नो काम गर्ने शैली बदल्नुपर्ने धारणा राखे।
त्रुटी
तस्बिर स्रोत, WEBROOT
शुरुमा अमेरिकी गुप्तचर निकायले पत्ता लगाएको 'माइक्रोस्फट विन्डो'मा रहेको प्राविधिक त्रुटीबाट ह्याकरहरुले फाइदा उठाएको देखिन्छ।
मानिसहरु सोमबार काममा फर्कंदा फिरौती नतिरेसम्म कम्प्युटर चल्न नदिने गरि ह्याक गरि उक्त रेन्समवयरका थप आक्रमणहरु हुनसक्ने चिन्ताहरु व्यक्त भइरहेका छन्।
कैयौं फर्महरुले थप ह्याकिंग रोक्न सप्ताहन्तमा पनि आफ्ना विशेषज्ञहरुलाई काममा खटाएका थिए।
उक्त भाइरसले कम्प्युटरमा रहेका प्रयोगकर्ताका फाइलमाथि नियन्त्रण जमाउँछ र त्यससम्म पुन: पहुँच कायम गर्न रकम तिर्नुपर्ने शर्त तेर्साउँछ।
भाइरस
तस्बिर स्रोत, Reuters
विज्ञहरुले सो भाइरसको विस्तार अहिले अलिकति सुस्त देखिएपनि यो अवस्था छोटो समयका लागि मात्रै हुनसक्ने चेतावनी दिएका छन्।
हालसम्म दुई लाख भन्दा कम्प्युटर उक्त हमलाको शिकार भइसकेका छन्।
आइतबार माइक्रोस्फटले जारी गरेको एउटा विज्ञप्तिमा कम्प्युटर प्रणालीमा रहेका सुरक्षा त्रुटीहरु बारेका सूचना भण्डारण गर्न सरकारहरुले अपनाउने विधिको आलोचना गरिएको छ।
उसले अमेरिकी गुप्तचर निकाय सिआइएसँग रहेका गोप्य जानकारी विकिलिक्ससम्म पुगेको र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहाकारसँग भएका सूचना चोरिएपछि अहिलेको अवस्था आएको उल्लेख गरेको छ।
माइक्रोसफ्टले पछिल्लो प्रकरणलाई बुझ्न अमेरिकी सेनाको टोमाहक क्षेप्यास्त्र चोरिएको भए के हुन्थ्यो भने जस्तै प्रविधिमा ह्याकिंग हुँदा सोही किसिमको खतरा निम्तिन सक्ने अवस्थासँग तुलना गर्न भनेको छ।