भरतपुर मतगणना विवाद: छानविन समिति गठन

निर्वाचन आयोग

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणनामा देखिएको विवादको छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।

सहन्यायाधिवक्ता गीता तिमिल्सिनाको नेतृत्वमा रहेको छानविन समितिमा गृहमन्त्रालयका सहसचिव र नेपाल प्रहरीका डीआईजी रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए।

छानविन टोलीलाई जेठ १७ गते सम्ममा प्रतिवेदन बुझाउन भनिएको बताइएको छ।

जिम्मेवारी

छानविन टोली सोमबारै भरतपुरतर्फ लागिसकेको समेत बताइएको छ।

छानविन समितिको प्रतिवेदन नआउन्जेल सम्मका लागि मतगणनाको काम स्थगित गरिएको समेत निर्वाचन आयोगले जनाएको छ।

स्थानीय तह निर्वाचन ऐनको दफा ५० को उपदफा ३ बमोजिम अनुगमन टोलीलाई छानविन गर्न जिम्मेवारी दिइएको आयोगका अधिकारीहरुको भनाइ छ।

आरोप प्रत्यारोप

गत राति वडा नम्बर १९ को गतगणना भइरहेको बेला मतपत्र च्यातिएपछि विवाद भएको थियो।

नेकपा एमालेले मतपत्र माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको आरोप लगाएको छ भने माओवादी केन्द्रले एमालेका प्रतिनिधिले च्यातेको आरोप लगाएको छ।

भरतपुर महानगरपालिकाको प्रमुखमा कामचलाउ प्रधानमन्त्री प्रचण्डकी पुत्री रेणु दाहाल उम्मेदवार छिन्।