प्रधानमन्त्री चयन प्रकृया दुई दिन पर स-यो

तस्बिर स्रोत, तस्वीर सौजन्य :सभामुखको कार्यालय
बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद चल्न नदिने अडान दोहेाराएको थियो
प्रधानमन्त्री चयनका लागि आइतबार तोकिएको निर्वाचन कार्यक्रम संसद बैठक संचालनका बारेमा प्रमुख दलहरुबीच सहमति जुट्न नसक्दा दुई दिन पर धकेलिएको छ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतदान पुन: गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध संसद नचल्ने अडान लिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दलहरुबीच छलफलका लागि थप समय मागेकोले निर्वाचनको कार्यक्रम पर सारिएको संसद सचिवालयले जनाएको छ।
संसद अवरोधको कारण बनेको भरतपुरमा पुन: मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध आइतबार सम्बन्धित वडाकै एमाले उम्मेदवारले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।
प्रधानमन्त्री निर्वाचनका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एक्ला उम्मेदवार भएपनि संसदमा बहुमत सावित गर्नुपर्ने भएका कारण मतदानमै जानु पर्ने संसदीय व्यवस्थाका कारण आइतबार मतदानको मिति तोकिएको थियो।
क्रुद्ध प्रतिपक्ष
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा मतपत्र च्यातिएको विषयमा संसद अवरुद्ध गर्दै आएका बेला निर्वाचन आयोगले पुन: मतदान गर्ने निर्णय गरेपछि थप क्रुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिने अडान राखेपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका प्रभावित भएको बताइएको छ।
सभामुख ओनसरी घर्तीले संसद संचालन गर्ने बारेमा प्रमुख दलका नेताहरुलाई राखेर छलफल गराएकी थिइन् ।
तर उनीहरु संसदको नियमित कार्यतालिका अगाडि बढाउनेमा नभै संसदको बैठक सार्न सहमत भएका छन्।
बैठकपछि बोल्दै सभामुख घर्तीले भनिन्, "छलफल अझै घनिभूत ढंगले गर्नुपर्ने उहाँहरुको निष्कर्ष आयो। विशेष गरेर प्रतिपक्षी दलका नेताहरुले छलफलका लागि समय माग्नु भएकाले सहमतिकै लागि दुई दिनको समय दिइएको छ।"
सहमति
प्रमुख विपक्षी दलको दुई दिन पछाडि सार्ने प्रस्तावलाई प्रधानमन्त्रीका उम्मेदवार देउवाले सहमति जनाएपछि संसदको अर्को बैठक जेठ २३ गतेका लागि बोलाइएको छ।
सहमतिका लागि समय मागेको एमालेले सहमति जुट्ने उपायमध्ये एउटा निर्वाचन आयोगको निर्णय विरुद्ध आइतवार सर्वोच्च अदालतमा परेको रिटका बारेमा आउन सक्ने अन्तरिम आदेश समेत रहेको छ।
एमाले वरिष्ठ नेता झलनाथ खनालले भने, "कुराकानीको सिलसिला पनि टुङगियोस्, हामीले समझदारी बनाउन पनि सकौं। यो बीचमा सर्वोच्च अदालमा रिट पनि परेको छ। त्यो रिटमा के हुन्छ त्यो पनि हेरौं, अनिमात्र अगाडि बढौं भन्ने कुरा हामीले सत्तापक्षसँग राखेका छौं।"
काँग्रेसका कतिपय सांसदहरुले भने एमालेले प्रधानमन्त्री निर्वाचनलाई पछा
अवरुद्ध
काँग्रेसका कतिपय सांसदहरुले भने एमालेले प्रधानमन्त्री निर्वाचनलाई पछाडि धकेल्नकै लागि संसदको अधिकार भन्दा बाहिर रहेको विषयलाई लिएर संसद अवरुद्ध गर्दै आएको आरोप लगाएका छन्।
सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय विरुद्धको रिट निवेदनको पेशी सोमबारका लागि तोकेको बताइएको छ।
सभामुखले प्रमुख दलहरुबीचको बैठक सोमवार साँझ ५ बजेका लागि बोलाएकी छन्।
सो बैठकले जेठ २३ गतेका लागि प्रधानमन्त्री निर्वाचनको बाटो खोल्ने अपेक्षा नेताहरुको छ।