किन टाढिए कतारका छिमेकीहरू?

  • 5 जुन 2017
तस्वीर कपीराइट Reuters
Image caption अमेरिकी राष्ट्रपतिसँगको शिखर वार्ताका लागि गत महिना कतारी अमीरले साउदी अरेबियाको भ्रमण गरेका थिए

साउदी अरेबिया, संयुक्त अरब एमिरेट्स्, बहराइन, इजिप्ट लगायतका आफ्ना छ छिमेकी राष्ट्रहरूसँग कतारको तनावपूर्ण सम्बन्ध न्यून विन्दूमा झरेको छ।

दोहास्थित सरकारलाई दबाव दिने उद्देश्यले चालिएको कदममा कतारका ती छिमेकीहरूले उसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्नुका साथै सिमाना पनि बन्द गरिदिएका छन्।

बीबीसी अरेबिकका आमीर रवाशले यो नयाँ कूटनीतिक सङ्कट पछाडिका कारणहरू खोतल्ने प्रयास गरेका छन्।

मुस्लिम ब्रदरहुड

कतार र उसका गल्फ कोअपरेशन काउन्सिलका सदस्य छिमेकीहरुले 'अरब वसन्त' भनिएको त्यस क्षेत्रमा फैलिएको आन्दोलनको लहरपछिका राजनीतिक परिवर्तनका बेला परस्पर विरोधी पक्षलाई समर्थन गरेका थिए।

दोहाले केही राष्ट्रहरूमा राजनीतिक फाइदा लिएका इस्लामवादीहरूलाई समर्थन गरेको ठानिएको थियो।

जस्तै इजिप्टमा मुस्लिम ब्रदरहुडका नेता तथा भूतपूर्व राष्ट्रपति मोहमद मोर्सीलाई सन् २०१३ मा पदच्युत गरिएपछि सो समूहका सदस्यहरुलाई एउटा मञ्च उपलब्ध गराएको आरोप कतारमाथि लगाइएको छ।

सो समूह हाल इजिप्टमा प्रतिबन्धित छ।

साउदी अरेबिया र युएइले मुस्लिम ब्रदरहुडलाई "आतङ्कवादी" सङ्गठन मान्ने गर्छन्।

सरकारी साउदी प्रेस एजेन्सीले जारी गरेको एउटा वक्तव्यमा कतारमाथि "सो क्षेत्रलाई अस्थिर तुल्याउने उद्देश्यले मुस्लिम ब्रदरहुड, डाएश भनेर चिनिने आइएस र अल कायदाजस्ता विभिन्न आतङ्कवादी र साम्प्रदायिक समूहहरूलाई सहयोग गरेको" आरोप लगाइएको छ।

तर कतारको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भने रियाध, अबुधाबी र मनामाले चालेका कदम "औचित्यहीन र आधारहीन तथा अप्रमाणित आरोपहरूमा आधारित" भनिएको छ।

सो वक्तव्यले कतार "जीसीसीको वडापत्रप्रति प्रतिबद्ध रहेको र आतङ्कवाद तथा अतिवादविरुद्धको सङ्घर्षमा आफ्नो कर्तव्यको पालना" गरिरहेकोमा जोड दिएको छ।

इरानसँगको सम्बन्ध

वर्तमान सङ्कट कतारका अमीर शेख तामिम बिन हमाद अल-थानीले इरानप्रति अमेरिकी शत्रुताको आलोचना गर्दै टिप्पणी गरेका भन्ने विवरणहरू सहितको एउटा विवादास्पद प्रतिवेदन सार्वजनिक भएपछि आरम्भ भएको देखिन्छ।

कतारका अनुसार ह्याकरहरूले त्यस्तो झूटा टप्पणीहरू देशको सरकारी समाचार एजेन्सीमा प्रकाशित गरिदिएका थिए।

कतारको एउटा प्रमुख प्रतिद्वन्द्वी साउदी अरेबियाले लामो समयदेखि नै त्यस क्षेत्रमा तेहरानको उद्देश्यहरूप्रति चिन्ता व्यक्त गर्दै आएको छ।

साउदी वक्तव्यले दोहालाई " कतिपय क्षेत्रमा सक्रिय इरान समर्थित आतङ्कवादी समूहका गतिविधिलाई सघाएको" आरोप पनि लगाएको छ, जुन पूर्वी साउदी अरेबियास्थित शिया बहुल क्षेत्र हो।

यमनका हूथी विद्रोहीहरूलाई पनि समर्थन गरेको आरोप कतारमाथि लगाइएको छ।

यमनमा भएको साउदी नेतृत्वको कारबाहीमा सहभागिता जनाएको दोहाले भनेको छ, उसले अन्य देशका सार्वभौमसत्ताको सम्मान गर्छ र तिनीहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन।

तस्वीर कपीराइट Reuters
Image caption कतारका अमीर (बायाँ) ले अमेरिकी राष्ट्रपति ट्रम्पसँग गत महिना साउदी अरेबियामा भेट गरेका थिए

लिबियाली द्वन्द्व

लिबिया सन् २०११ मा त्यहाँका भूतपूर्व नेता मुअम्मर गद्दाफी पदच्युत भै मारिएदेखि नै सङ्कटको अवस्थामा रहँदै आएको छ।

लिबियाका सैनिक नेता खलिफा हफ्तारलाई इजिप्ट र युएइबाट सहयोग प्राप्त छ।

उनले कतारलाई आरोप लगाउँदै उसले "आतङ्कवादी समूहहरूलाई" समर्थन गरेको बताए।

हफ्तार लिबियाको पूर्वी शहर टोब्रकस्थित सरकारसँग सम्बद्ध छन्।

उता कतारले त्रिपोलीमा रहेको प्रतिद्वन्द्वी सरकारलाई समर्थन गर्दछ।

सञ्चार "युद्ध"

साउदी अरेबियाले कतारमाथि आफ्ना सञ्चार माध्यमहरुको प्रयोग "देशद्रोह भड्काउने" कार्यमा गर्ने गरेको आरोप पनि वक्तव्यमार्फत् लगाएको छ।

कतारी सञ्चार माध्यमहरूले मुस्लिम ब्रदरहुडका सदस्यहरूलाई आफ्नो धारणा राख्‍न दिने गरेका छन्।

कतारीहरूले गुनासो गर्दै भनेका छन् " आफूहरूविरुद्ध पूर्ण रूपमा मनगढन्ते आरोपहरूका आधारमा भड्काउने खाले अभियान नै सञ्चालन भइरहेको छ।"