चुनाव चिन्हबारे लचिलो बन्दै राजपा नेपाल

राष्ट्रिय जनता पार्ट्रि नेपालको अध्यक्ष मण्डल

तराई केन्द्रित छ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले सरकारले आफ्ना माग पूरा गरे एकीकृत भएका दलमध्ये कुनै एकको चुनाव चिन्ह लिएर स्थानीय निर्वाचनमा जानसक्ने बताएका छन्।

यसअघि राजपा नेपालले स्थानीय तहको निर्वाचनमा जान एउटै चुनाव चिन्ह छातानै चाहिने अडान राख्दै आएको थियो।

राष्ट्रिय जनता पार्टीको पछिल्लो निर्णयलाई कतिपयले उक्त दल लचिलो बन्दै गएको रुपमा अर्थ्याएका छन्।

निर्वाचन आयोगले पहिलेनै मतपत्र छापिसकेकोले नयाँ चुनाव चिन्ह दिन नमिल्ने बताउँदै आएको थियो।

समस्या छैन

राजपा नेपालको अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोले भने, "चुनाव चिन्हको त्यत्ति समस्या छैन। हाम्रो माग पूरा भयो भने हाम्रो छ वटा पार्टी मध्येबाट कुनैको चुनाव चिन्ह प्रयोग गरौंला, तर मुख्य कुरा हाम्रा मागहरु सम्बोधन गरिसकेपछि अनि निर्वाचन चिन्हको कुरा पनि गरौंला।"

यसअघि एकीकरण भएका छ दलमध्ये कुनै एकको चुनाव चिन्ह प्रयोग गर्दा मतदातामाझ अन्योल सिर्जना हुने र त्यसका कारण आफूले पाउने मतसंख्यामा नकारात्मक असर पर्न सक्ने भनाइ सो पार्टीले राख्दै आएको थियो।

सरकारले संविधान संशोधन लगायत आफ्ना माग पूरा गरे अन्य प्राविधिक मागहरुमा आफूहरु लचिलो हुने अर्का अध्यक्ष अनिल झाले बताए।

उनले भने, "नाम र छाप दुवै नयाँ लिएर चुनावमा जाने कुरा सहमति भएको हो तर चुनाव चिन्ह मात्रैको कारणले निर्वाचनमा भाग नलिने भन्ने हुँदैन। यो सम्झौताको विषय हुनसक्छ, यो संविधान संशोधन जत्तिकै कठोर विषय पनि होइन।"

माग

राजपा नेपालले संविधानमा उल्लेख भएको नागरिकताको प्रावधान परिवर्तन गर्ने, स्थानीय तहको संख्या थप्ने र प्रदेश सीमाङ्कन हेरफेर गर्ने विषयमा संविधान संशोधन गर्न माग गर्दै आएको छ।

सरकारले संविधान संशोधन विधेयक सदनमा प्रस्तुत गरेपनि पारित हुन सकेको छैन।

यसअघि जेठ ३१ गते दोस्रो चरणको स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको सरकारले पहिलो चरणको निर्वाचनमा भाग नलिएको राजपा नेपाललाई पनि निर्वाचनमा सहभागी गराउन असार १४ को लागि सारेको छ।