टरिजा मेका दुई सल्लाहकारको राजीनामा

सल्लाहकार
तस्बिरको क्याप्शन,

ब्रिटिश प्रधानमन्त्री टरिजा मेका दुई सल्लाहकारले राजीनामा दिएका छन्

आम निर्वाचनमा कन्जरभेटिभ पार्टीले बहुमत ल्याउन बिफल भएको सन्दर्भमा ब्रिटिश प्रधानमन्त्री टरिजा मेका दुईजना नजिकका सल्लाहकारहरुले राजीनामा दिएका छन्।

निक टिमोथी र फियोना हिललाई बर्खास्त नगरे प्रधानमन्त्रीको नेतृत्वमाथि सोमबार चुनौति दिइने चेतावनी दिइएको बीबीसीले बुझेको छ।

टिमोथीले चुनावमा कन्जरभेटिभ पार्टीको नराम्रो चुनाव परिणाममा आफ्नो आफ्नो भूमिकाको जिम्मेवारी लिने बताए।

अहिले आलोचना भइरहेको पार्टीको घोषणापत्रमा सामाजिक सेवा लागतको सीमा नतोकोमा आफुलाई पछुतो भएको उनले बताए।

नेतृत्व शैली

बीबीसीका सहायक सम्पादक नोरम्यान स्मीथले भने- यी दुईजनाको बहिर्गमनले प्रधानमन्त्री मेलाई केही सजिलो हुने ठाउँ दिएको छ।

उनले भने ती सहयोगीहरु प्रधानमन्त्रीको यति निकट थिए कि उनीहरु नबाहिरिएको भए प्रधानमन्त्रीले उनको नेतृत्व शैली परिवर्तन गर्न सक्ने थिइनन्।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

टरिजा मेले प्रधानमन्त्री बनिरहन चाहेकी छन्

मेले आफु प्रधानमन्त्री बनिरहन चाहेको र सरकार बनाउनका लागि डेमोक्रेटिक युनियोनिस्टहरुको सहयोग खोजेको बताएकी छन्।

प्रमुख सचेतक गेभीन विलियमसन सहमति बनाउन औपचारिक वार्ताका लागि बेलफाष्टमा छन्।

प्रधानमन्त्रीले उनका सल्लाहकारको घेरालाई बृहत बनाउन र अहिलेका सल्लाहकार परिवर्तन गर्न दवाव बढिरहेका बेला टिमोथी र हीलले राजीनामा दिएका हुन्।

राजीनामा दिएका टिमोथीले मतदाताहरुसँग कन्जरभेटिभहरुले संवाद गर्न नसकेकाले र आफ्ना कुरा प्रष्ट राख्न नसकेकाले मत घटेको बताएका छन्।

बचाउ

तर उनले पार्टीको घोषणापत्रको बचाउ गरे।

एकजना पूर्व मन्त्री आना सब्रीले उनीहरुको बहिर्गमनको स्वागत गर्दै त्यसो गर्नु ठीक थियो भनेकी छन्।

त्यस अघि चुनाव घोषणा हुनु अघिसम्म मेकी सूचना निर्देशक रहेकी केटी पेरिअरले चुनाव अभियानलाई असाध्यै अप्रभावकारी भन्दै बीबीसीलाई प्रधानमन्त्रीले सल्लाहकारहरुको वृत्त बढाउनुपर्ने र उनलाई यो नगर हुँदैन भन्न सक्नेहरु पनि सल्लाहकारमा राखिनुपर्ने बताएकी थिइन्।