चिनियाँ नोबेल पुरस्कार विजेता जेलमुक्त

  • 26 जुन 2017
लिउ सियाओबो तस्वीर कपीराइट Reuters

चिनियाँ नोबेल शान्ति पुरस्कार विजेता लिउ शियाओबो हिरासतबाट मुक्त गरेर अस्पतालमा सारिएको छ।

कलेजोमा निको नहुने क्यान्सरबाट पीडित भएको पाइएपछि उनलाई मानवीय आधारमा मुक्त गरिएको बताइएको छ।

मानवअधिकार अभियानकर्ता लिउ बृहत् प्रजातन्त्रको आह्वान गर्दा सन् २००९ मा राज्यविरुद्धको अपराधको अभियोगमा हिरासतमा परेका थिए।

उनका वकीलले लिउ उत्तरी प्रान्तस्थित एउटा अस्पतालमा उपचाररत रहेको बताएका छन्।

नजरबन्द

उनलाई क्यान्सर लागेको एक महिनाअघि पत्ता लागेको थियो।

लिउले सन् २०१० मा नोबेल शान्ति पुरस्कार जितेयता उनकी पत्नी आफ्नै घरमा नजरबन्दमै छिन्।

६१ वर्षे लिउ सन् १९८९ को तियानआनमेन स्क्वायरमा भएको प्रदर्शनका एक प्रमुख नेता थिए।

चिनियाँ सरकारी निकायले लिउकी पत्नीको आवातजावतमा लगाइएको अङ्कुशबारे अहिलेसम्म प्रस्ट पारेका छैनन्।

सम्बन्धित सामग्री