भेनेजुयलामा आम हडताल: हिंसाको त्रास

तस्बिर स्रोत, Reuters
प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ
अमेरिकी देशहरुको समूह ओएएसका प्रमुखले भेनेजुयलाको परिस्थिति असाध्यै बिग्रन सक्ने चेतावनी दिएका छन्।
भेनेजुयलामा आह्वान गरिएको आम हडतालमा लाखौं सहभागी भएका छन्।
प्रहरी र प्रदर्शनकारीबीच राजधानी कराकसका विभिन्न भागमा झडप भएको छ।
देशभर गरी कम्तीमा दुईजना मारिएका छन्।
सडक अवरोध
तस्बिर स्रोत, Reuters
प्रदर्शनकारीले विभिन्न उपाय अपनाएर सडक अवरोध खडा गरेका छन्
एप्रिल यता मात्रै विपक्षी प्रर्दशनमा एक सय जनाजति मारिएका छन्।
एउटा अधिकारवादी संस्थाले सुरक्षा फौज र विपक्षीबीच झडप भएको र कम्तीमा ८० जना गिरफ्तार भएको जनाएको छ।
कराकसको बाहिरी भागमा एकजना २४ वर्षीय युवक मारिएको र उत्तरी शहर भ्यालेन्सियामा एकजना २३ वर्षीय युवक मारिएको एफपपी समाचार एजेन्सीले बताएको छ।
विपक्षीहरुले फोहोरको थुप्रो र फर्निचरहरु लगायतले सडकहरुमा अवरोध खडा गरेका छन्।
विपक्षी वेवसाइटहरुले कराकसका सुनसान सडकका तस्वीर सार्वजनिक गरेका छन् तर सरकार समर्थकहरुले हडतालमा नजाने जनाउन आफू काममा रहेका तस्वीरहरु ट्वीट गरेका छन्।
ओएएसका महासचिव लुइस एलम्याग्रोले हडताल शुरु हुनु अघि भने -"हामीलाई परिस्थिति रक्तपात तर्फ जाला भन्ने त्रास छ।"
आरोप
तस्बिर स्रोत, Reuters
ओएएस महासचिव लुइस एलम्याग्रोले भेनेजुयला सरकारको हात "रक्त रञ्जित" रहेको बताए
भेनेजुयलाको आर्थिक र राजनीतिक संकटबारेको उनको तेश्रो रिपोर्टमा एलमाग्रोले राष्ट्रपति नीकोलस मदुरोको सरकारलाई 'रक्तरञ्जित हात' भनेर आरोप लगाएका छन्।
उनले लेखेका छन्, "हरेक गिरफ्तार गरिएका व्यक्तिका पछाडि या राजनीतिक बन्दीका पछाडि या यातना दिइएका व्यक्तिका पछाडि या मारिएका हरेक व्यक्तिका पछाडि संस्थागत रुपमा एक व्यक्ति जिम्मेवार छन्। भेनेजुयलाको सत्ता र भ्रष्टाचार त्यसका लागि जिम्मेवार छन्।"
एलम्याग्रो भेनेजुयलाको सरकारको कडा आलोचक रहँदै आएका छन् र अहिले राष्ट्रपति मदुरोमाथि दवाव बढाउन विश्वका अरु नेताहरुले पनि उनलाई साथ दिएका छन्।