राजकुमार जर्जको चौथो जन्मदिनको तस्बीर

राजकुमार जर्ज

तस्बिर स्रोत, CHRIS JACKSON VIA PA

तस्बिरको क्याप्शन,

राजकुमार जर्ज एलेग्जेण्डर लुइस २२ जुलाई २०१३ मा जन्मिएका थिए

राजकुमार जर्जको चौथो जन्मदिनको उपलक्ष्यमा एक औपचारिक तस्बीर सार्वजनिक गरिएको छ।

उनको जन्मदिनको केही दिन अघि केन्सिङटन दरवारमा खिचिएको तस्बीरमा भावी राजा मुस्कुराएका छन्।

केन्सिङटन दरबारले राजकुमारका बाबु राजकुमार विलियम र आमा केट शाही फोटो पत्रकार क्रीस ज्याकसनले खिचेको तस्बीर देखाउन पाउँदा "हर्षित" भएको बताएको छ।

जन्मदिनको केही अघि मात्र यी राजकुमारले उनका बाबुआमासँग पोल्याण्ड र जर्मनीको भ्रमण पुरा गरेका छन्।

राजकुमार जर्ज एलेग्जेण्डर लुइस २२ जुलाई २०१३ मा जन्मेका थिए।

तस्बिर स्रोत, PA

तस्बिरको क्याप्शन,

जन्मदिनको केही दिन अघि राजकुमारले आफ्ना बाबुआमासँग पोल्याण्ड र जर्मनीमा पाँच दिन बिताएका थिए

केन्सिङटन दरबारले भनेको छ, "ड्यूक र डचेस यो राम्रो तस्बीर देखाउन पाउँदा खुशी छन् र उनीहरुले विभिन्न सन्देश पठाउनेहरुलाई धन्यबाद दिएका छन्।"

जुन महिनाको अन्त्यतिर उक्त तस्बीर खिचेका शाही फोटो पत्रकार ज्याकसनले भने, "ड्यूक र डचेसले यो तस्बीर सार्वजनिक गरेकोमा म असाध्यै खुशी छु। उनी यति हँसमुख बालक छन्, उनैले तस्बीरलाई रमाइलो बनाइदिन्छन्।"

यस अघि उनीहरुको जर्मनी र पोल्याण्ड भ्रमणको अन्तिम दिन राजकुमार विलियमले राजकुमार जर्ज र राजकुमारी श्यार्लोटलाई जर्मनीको ह्यामबर्गस्थित एअरबस कम्पनीमा हेलिकप्टर चढाएका थिए।

जर्जले पाइलटको हेलमेट लगाएका थिए भने श्यार्लोटले ककपीटका बटनहरुसँग खेलेकी थिइन्।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन,

यो शाही समूहले शुक्रबार औपचारिक भ्रमण सम्पन्न गरेको थियो

उनी केन्सिङटन दरबारबाट केही माइलको दुरीमा रहेको थोमसेस ब्याटरसी नामको निजी शिशु विद्यालयमा पढन जाँदैछन्।