कतारका अमीरद्वारा वार्ता आह्वान

तस्बिर स्रोत, Reuters
चारवटा शक्तिशाली अरब छिमेकी मुलुकहरुको प्रतिबन्धमा परेको कतारका अमीरले समस्या समाधानका लागि वार्तामा बस्न आह्वान गरेका छन्।
खाडी संकट उत्पन्न भएपछि पहिलो सार्वजनिक सम्बोधनका क्रममा शेख तमिम बिन हमाद अल थानीले कुनै पनि समाधानले कतारको सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने बताए।
आतंकवादलाई सघाएको आरोप लगाउँदै साउदी अरेबिया, युनाइटेड अरब एमिरेट्स, बहराइन र इजिप्टले गत जुन महिनामा कतारसँग सम्बन्ध विच्छेद गरेका थिए।
उनीहरुले कतारसमक्ष श्रृंखलाबद्ध मागहरु अघि सारेका छन्।
सम्बन्ध
तेहरानसँगको दोहाको सम्बन्धलाई लिएर पनि ती मुलुक असन्तुष्ट भएको बताइन्छ।
तर कतारले आतंकवादलाई सघाएको भनी आरोप अस्वीकार गर्दै आएको छ।
तस्बिर स्रोत, Reuters
टेलिभिजनमा गरेको सम्बोधनमा कतारी अमीरले 'कतारविरुद्ध चलाइएको घृणित अभियान' को निन्दा गर्दै असहज स्थितिबाट सजिलै पार पाउने क्षमताको प्रशंसा गरे।
उनले थपे, "तपाईँहरुलाई थाहा छ कतारमा जनजीवन सामान्य रुपमै चलिरहेको छ।"
तर अमीरले सरकारहरुबीचको राजनीतिक मतभेदमा जनतालाई मुछ्न नहुने समय आएको बताए।
संकट
उनले थपे, "कतारको सार्वभौमसत्ताको सम्मान गरिने अवस्थामा समस्याको समाधानका निम्ति संवादमा बस्न हामी तयार छौँ।"
ग्यासमा धनी कतारविरुद्धको चार अरब मुलुकहरुको प्रतिबन्धका कारण उसले आफ्ना २७ लाख जनतालाई चाहिने खाद्यान्नसहितका सामान समुद्री र हवाई मार्गबाट मगाउन परिरहेको छ।
यसअघि १३ बुँदे माग सारेका ती मुलुकहरु त्यसबाट पछि हटिसकेका छन्।
त्यसको सट्टा उनीहरुले गत साता ६ वटा बृहत् सिद्धान्त अघि सारेका थिए।
जारी संकट समाधानका लागि कुवेती मध्यस्थकर्ताहरुले गरिरहेको प्रयासको कतारी अमीरले प्रशंसा गरेका छन्।