काबुल बम हमलामा कम्तीमा २४ जनाको मृत्यु

सुरक्षाकर्मी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

केही प्रभावशाली नेताहरुको घर रहेको राजधानी काबुलको पश्चिमी भागमा कार बम हमला भएको हो।

अफगानिस्तानको राजधानी काबुलमा गरिएको एक आत्मघाती बम हमलामा कम्तीमा २४ जना मारिएको र ४२ जना घाइते भएको अधिकारीहरुले बताएका छन्।

अफगानिस्तानका एक अधिकारीले बीबीसीलाई बताएअनुसार आक्रमणकारीले खानी मन्त्रालयका कर्मचारी बोकेको बस नजिकै आफ्नो कारमा बम विस्फोट गराएका थिए।

आक्रमण राजधानी काबुलको पश्चिम भागमा गरिएको थियो।

आक्रमणकारीले कर्मचारी बोकेको बसलाई नै निशाना बनाउन खोजेका थिए वा थिएनन् भन्ने प्रष्ट भइसकेको छैन।

विद्रोही समूह तालेबानले आक्रमणको जिम्मेवारी लिएको छ।

चिन्ता

पश्चिमी काबुलमा हजारा समूहका नेता मोहमद मोहकिक लगायतका प्रभावशाली नेताहरु बसोबास गर्दछन्।

अधिकारीहरुले हताहत हुनेको संख्या अझै बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

काबुलमा यस वर्ष तालेबान वा तथाकथित इस्लामिक स्टेट संलग्न रहेका कैयौं घातक आक्रमणहरु भइसकेका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा सन् २०१७ जेनु्अरीदेखि जुनसम्ममा १,६६२ गैरसैनिक व्यक्तिहरुको ज्यान गइसकेको छ। ती मध्ये २० प्रतिशत राजधानी काबुलका थिए।