राजपाभित्र चुनावमा जान दबाब
संविधान संशोधनलाई शर्तको रुपमा अघि सारेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का पदाधिकारीले स्थानीय चुनावमा सहभागी हुन आफ्नो पार्टी नेतृत्वलाई दबाब दिएका छन्।

पार्टीको महत्वपूर्ण बैठकअघि नेतृत्वले गरिरहेको परामर्शका क्रममा पदाधिकारीहरुले संविधान संशोधनलाई चुनावमा सहभागी हुने शर्त बनाउन नहुने सुझाव दिएको नेताहरुले जनाएका छन्।
उक्त दलले आउँदो सातादेखि पदाधिकारी र केन्द्रीय समितिको बैठक डाकेको छ।
संविधान संशोधनको पक्षमा दुई तिहाइ मत पुग्नेमा सत्तापक्ष नै विश्वस्त नदेखिएका बेला त्यसले राजपा नेपालभित्र पनि तीव्र ध्रुवीकरण निम्त्याइदिएको देखिन्छ।
नयाँ बहस
उक्त दलका कतिपय नेता एमाले संशोधनको विपक्षमा देखिएका बेला राप्रपाको भूमिका समेत स्पष्ट नभएको भन्दै संविधान संशोधनको सम्भावना कमजोर बनेको ठम्याईमा पुगेका छन्।
त्यस्तो विचार राख्नेहरु मन्त्रिपरिषद् बैठकबाट शहीद घोषणा, राहत, क्षतिपूर्ति, मुद्दा फिर्ता र स्थानीय तहको संख्या बृद्धि लगायतका माग पुरा गराएर चुनावमा जानु पर्ने पक्षमा देखिएका छन्।
एकजना महासचिव केशव झा भन्छन्, "सरकारले गर्न सक्ने माग पुरा गरिदियो भने चुनावमा भाग लिनुपर्छ भन्ने मत पार्टीभित्र दह्रो छ। त्यस्तै संविधान संशोधनलाई शर्त बनाइनु ठीक थियो कि थिएन भन्ने पनि सोच्नु पर्ने भएकाले नयाँ किसिमको बहस शुरु भएको छ।"
संशोधन-चक्रव्यूह
त्यसको झल्को पार्टीका महासचिव, सह-महासचिव र प्रवक्तासँग पार्टी नेतृत्वले गरेको छलफलमा समेत देखिएको बताइएको छ।
ती पदाधिकारीले संशोधनमा नअल्झिएर चुनावमा सहभागी हुनु पर्ने सुझाव नेतृत्वलाई दिएका थिए।
तिनै मध्येका अर्का महासचिव जंगीलाल राय सत्तापक्ष र प्रतिपक्ष दुवै आफूहरुलाई चुनावमा सहभागी गराउन नचाहेको ठम्याईमा पुगेका छन्।
उनको भनाई छ, "संशोधनको चक्रव्यूहमा फसेर बसिरहनु हुन्न भन्ने म सहित अन्य साथीको राय थियो। त्यसलाई अब शर्त बनाउन नहुने दवाव नेतृत्वलाई दिएका छौं, सकभर चुनावमा भाग लिने कोसिस गर्छौं।"
अस्वीकार
तर स्थानीय चुनाव भइसकेका प्रदेशका केही नेताले बैठकमा संशोधनको पक्षमै बोलेका थिए।
उनीहरुले 'आफ्नो प्रदेशमा चुनाव बहिष्कार गर्दाको भन्दा परिस्थितिमा के फेरबदल भयो, जसले प्रदेश नम्बर २ को चुनावमा सहभागी हुने?' भन्ने प्रश्न उठाएको बताइएको छ।
अध्यक्ष मण्डलका एकजना सदस्य अनिल झाले संशोधन विना निर्वाचनमा जाने कुनै सम्भावना नरहेको बताए।
चुनावलाई लिएर पहिल्यैदेखि उक्त दलभित्र मतभेद रहेको बताइए पनि अहिले त्यो सार्वजनिक रुपमा प्रकट हुन थालेको छ।