रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित
अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति डोनल्ड ट्रम्पको विरोध रहेपनि रुसमाथि नयाँ नाकाबन्दी लगाउने प्रस्ताव पारित गरेको छ।

तस्बिर स्रोत, AFP
नयाँ विधेयकले रुससँग सम्बन्ध सुधार्ने राष्ट्रपति ट्रम्पको योजनालाई समस्यामा पार्न सक्छ
रुस, इरान र उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउन अमेरिकाको तल्लो सदनमा मतदान भएको हो।
विधेयकको पक्षमा ४१९ मत विपक्षमा ३ मत मात्रै परेको थियो।
यो विधेयकले रुससँग सम्बन्ध सुधार्ने राष्ट्रपति ट्रम्पका आशालाई समस्यामा पार्ने ठानिएको छ।
सम्बन्ध 'जटिल'
रुसी संसद ड्यूमाको अन्तर्राष्ट्रिय मामिला समितिका सदस्य लेओनीड स्लुट्स्कीले अमेरिका रुसको सम्बन्ध नयाँ प्रतिबन्धले जटिल बनाउने बताए।
विधेयक राष्ट्रपतिकहाँ हस्ताक्षर गर्न पठाउनु अघि सिनेटले पारित गर्नुपर्नेछ।
ह्वाइटहाउसले उक्त विधेयक समीक्षा गरिरहेको बताएको छ।
राष्ट्रपतिले त्यसमाथि भिटो लगाउलान् कि नलगाउलान् भन्ने स्पष्ट भएको छैन।
तस्बिर स्रोत, AFP
यदि विधेयक सिनेटबाट पनि पारित भयो भने रुसप्रति झुकाव राख्ने भनिएका ट्रम्प समस्यामा पर्न सक्छन्।
राष्ट्रपतिले भिटो अर्थात विशेषाधिकार प्रयोग गरेर विधेयक विफल बनाउन सक्छन् तर त्यसो गरे रुसप्रति ट्रम्पको समर्थन रहेको भन्ने आशंकालाई बल मिल्नेछ।
अमेरिकाले यस अघि नै क्राइमिया प्रकरणमा रुसीहरुमाथि नाकाबन्दी लगाइसकेको छ।
अमेरिकी निर्वाचनमा रुसी ह्याकिङ सम्बन्धमा गत डिसेम्बरमा पूर्व राष्ट्रपति ओबामाले ३५ रुसी कुटनीतिज्ञहरुलाई फिर्ता पठाइदिएका थिए।