एउटै मतपत्रमा समानुपातिक र प्रत्यक्षको गणना?

एउटै मतपत्रमा हालिएको मतलाई प्रत्यक्ष र समानुपातिक दुवैका निम्ति गणना गर्ने हो भने प्रदेश सभा तथा प्रतिनिधि सभाको चुनाव एकै पटक गर्न सकिने सुझाव निर्वाचन आयोगले सरकारलाई दिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न बोलाएको बैठकमा दुवै चुनाव एकै पटक गर्न सकिने सम्भावना बारे प्रश्न गरेपछि आफूहरुले त्यस्तो सुझाव दिएको आयोगका सदस्य ईश्वरी पौडेलले बीबीसीलाई बताएका छन्।
सो बैठकमा त्यसो गर्नाका लागि कानूनी तथा राजनीतिक पाटो मिलाइए, आयोगले आफ्नो प्राविधिक तयारी गर्ने जानकारी दिएको उनले बताए।
कानून
आयोगले सरकारलाई अब छिट्टै प्रदेश सभा र संघीय संसदका कानून पारित गरि मिति घोषणा गर्न पनि आग्रह गरेको छ।
मंसिरको तेस्रो सातादेखि हिमाली भेगमा हिउँ पर्ने हुनाले मंसिरको शुरुतिरै बाँकी जम्मै चुनाव गराइसक्नु उपयुक्त हुने सुझाव पनि आयोगले सरकारलाई दिएको बताइएको छ।
निर्वाचन क्षेत्र निर्धारण आयोग बनेकोमा निर्वाचन आयोगले सन्तुष्टी प्रकट गरेको छ।