भारत: बलात्कृत बालिकाको गर्भपतन निवेदन अस्वीकार

तस्बिर स्रोत, AFP
भारतको सर्वोच्च अदालतले एकजना १० वर्षे बालिकाको गर्भपतन गर्ने निवेदनलाई अस्वीकार गरेको छ।
आफ्नो नातेदारले बलात्कार गरेको भनिएकी ती बालिकाको गर्भ धेरै विकसित भइसकेको हुनाले त्यस्तो निर्णय लिएको अदालतले जनाएको छ।
ती बालिकाको ३२ हप्ताको गर्भ पतन गर्नु धेरै जोखिमपूर्ण हुने एउटा चिकित्सकको टोलीले अदालतलाई बताएको थियो।
त्यसै कारणले अर्को एउटा अदालतले पनि उनको गर्भपतन गर्ने निवेदनलाई अस्वीकार गरेको थियो।
आदेश
ती बालिकाले दुई हप्ताअघि पेट दुखेको भनेपछि उनका बाबुआमाले उनलाई अस्पताल लैजाँदा उनी गर्भवती भएको पत्ता लागेको थियो।
अदालतले उत्तरी शहर चण्डीगढस्थित एउटा सरकारी अस्पताललाई ती बालिकालाई राम्रो स्वास्थ्य सेवा सुनिश्चित गर्ने आदेश दिएको छ।
साथै त्यस्ता मुद्दामा तत्कालै निर्णय लिन मद्दत गर्नका लागि भारत सरकारले प्रत्येक राज्यमा एउटा स्थायी चिकित्सकीय टोली स्थापना गर्ने सुझाव सर्वोच्च अदालतले दिएको छ।
'गम्भीर जोखिम'
ती बालिकालाई जाँच गरिसकेका चिकित्सकले उनको शरीर पूर्ण विकसित नभइसकेको हुनाले उनले सन्तान जन्माएमा उनी र उनको सन्तानको जीवन गम्भीर जोखिममा पर्ने बताएको भन्दै एकजना वकील अलख आलोक श्रीवास्तवले सार्वजनिक हितमा एउटा निवेदन दर्ता गरेका थिए।
अति विपन्न परिवारकी ती बालिकाका बाबु सरकारी जागिरे हुन् र आमा घरेलु कामदार हुन्।
ती बालिकाले उनलाई विगत सात महिनामा उनका नातेदारले बारम्बार बलात्कार गरेको आरोप लगाएकी छिन्।
संदिग्धलाई गिरफ्तार गरिएको छ।
कडा नियम
भारतमा आमाको जीवन खतरामा भएको चिकित्सकहरुले पुष्टि गरेमा मात्रै २० हप्तापछि गर्भपतन गर्न पाइन्छ।
गैर कानुनी र जोखिमपूर्ण गर्भपतन रोक्न र मातृ मृत्युदर घटाउनका निम्ति सन् १९७१ मा त्यस्तो कडा कानून लागू गरिएको थियो।
तर पछिल्ला केही वर्षमा भने भारतीय अदालतमा २० हप्तापछि पनि गर्भपतन गर्न दिने थुप्रै निवेदन दर्ता गरिएका छन्।
धेरै निवेदन बलात्कारबाट पीडित बालिकाले गरेको बीबीसीकी गीता पाण्डे बताउँछिन्।
'महामारी'
भारत यौन दुराचारबाट पीडित सबैधन्दा धेरै बालबालिका भएको देश हो र केही अभियानकर्ताले त्यसलाई महामारी सरह भनेका छन्।
तर त्यो समस्याबारे कुरा गर्न भने धेरै मानिस हिच्किचाउँछन् र त्यसबारेमा सार्वजनिक बहस कमै हुने गर्छ।
धेरैजसो दुराचारी बालबालिकासँग परिचित अभिभावक नै हुने गरेको अनुसन्धानले देखाएका छन्।