'सम्पूर्ण अमेरिका आफ्नो क्षेप्यास्त्रको पहुँचमा'

  • 29 जुलाई 2017
किम जोङ उन तस्वीर कपीराइट Photoshot
Image caption किम जोङ उनले "जुनसुकै ठाउँ र समयमा" उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्न सक्ने पुष्टि भएको बताए

उत्तर कोरियाले उसको पछिल्लो अन्तरदेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणलाई सफल भन्दै अमेरिकाका लागि 'कडा चेतावनी' दिन उक्त परीक्षण गरिएको बताएको छ।

उत्तर कोरियाली नेता कीम जोङ उनले 'परीक्षणले सारा अमेरिका भर क्षेप्यास्त्र प्रहार गर्न सकिने प्रमाणित गरेको' बताएको राज्य सञ्चालित सञ्चार माध्यमले उल्लेख गरेको छ।

उत्तर कोरियाले यो महिना दोश्रोपटक अन्तरमहादेशीय क्षेप्यास्त्र परिक्षण गरेको हो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसलाई "उत्तर कोरिया शासकको अविवेकी र खतरनाक कदम" भनेका छन्।

भत्सर्ना

तस्वीर कपीराइट AFP
Image caption अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको पछिल्लो परीक्षणको प्रतिक्रियामा क्षेप्यास्त्र प्रहार अभ्यास गरेका छन्

परीक्षणको पुष्टि गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र ४७ मिनेटसम्म उडेको र ३,७२४ किलोमीटर उचाइमा पुगेको बताएको छ।

कोरियन सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ, "हाम्रा नेताले गर्वसाथ भनेका छन्, अमेरिकी मुख्य भूमी हाम्रो क्षेप्यास्त्र प्रहारको पहुँचमा आएको छ।"

विज्ञप्तीमा जनाइए अनुसार उक्त क्षेप्यास्त्र ह्वासोङ-१४ जुलाइ ३ मा गरिएकै क्षेप्यास्त्रको प्रकार हो।

अमेरिका, जापान र दक्षिण कोरियाले प्योङयाङको पछिल्लो कारवाहीको भत्सर्ना गरेका छन्।

जापानी प्रधानमन्त्री शिन्जो आबेले क्षेप्यास्त्र परिक्षण उनको मुलुकको लागि गम्भीर खतरा भएको बताए।

बचाउ

तस्वीर कपीराइट KCNA

पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेभीसले भने, "अमेरिका आफ्नो बचाउका लागि तयार छ।"

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले मध्यरातमा आपतकालीन सुरक्षा बैठक डाकेका थिए।

कतिपय विश्लेषकहरु भन्छन्, एकपछि अर्को परिक्षणहरु भइरहे पनि उत्तर कोरियाको आणविक युद्ध गर्ने क्षमता पुगेको छैन।

तर केही विश्लेषकहरु भन्छन्, अहिलेकै दरमा अघि बढिरहे प्योङयाङले सबै चुनौतीहरु पार गरी पाँचदेखि दश वर्षमा अमेरिकामाथि आक्रमण गर्न सक्छ।