भरतपुरमा पुन: मतदान सम्पन्न

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा स्थानीय चुनाव अन्तर्गत पुन:मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको अधिकारीहरुले बताएका छन्।
यसअघिको निर्वाचनपछि मतगणनाको क्रममा मतपत्र च्यातिएपछि सर्वोच्च अदालतले उक्त वडामा पुन: मतदान गर्न आदेश दिएको थियो।
उक्त वडामा करिब ३ हजार ८ सय मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उत्साह
बिहानैदेखि पानी परे पनि मतदाताहरु छाता ओढेर र वर्षादी लगाएर मतदान गर्न पुगेका थिए।
पुन: मतदान गर्न पाएकोमा केही मतदाता खुशी देखिए भने केही दु:खी।
बीबीसीका नारायणगढ संवाददाता ईश्वर जोशीसँग कुरा गर्दै केही मतदाताले यसपटक कडा सुरक्षा प्रबन्ध मिलाएर मतगणना गरिनुपर्ने धारणा राखे।
उक्त वडाको तीन मतदानस्थलमा ६ मतदान केन्द्र छन्।
मतगणना
भरतपुर महानगरपालिकामा मेयर पदको लागि नेकपा एमालेबाट देवी ज्ञवाली र माओवादी केन्द्रबाट पूर्व प्रधानमन्त्री प्रचण्डकी छोरी रेणु दाहाल चुनावी मैदानमा छन्।
भरतपुर महानगरपालिकाको १९ नम्वर वडाको मत पत्र च्यातिए पछि २० नम्बर वडाको मतगणना हुन सकेको थिएन।